सुलेमानीको ठाउँमा नयाँ कमाण्डर नियुक्त, को हुन् नयाँ कमाण्डर इस्माइल घानी ?
काठमाडौं। अमेरिकाले आफ्नो कुड्स फोर्सका कमाण्डर मेजर जनरल कासिम सुलेमानीलाई मारिदिएपछि इरानले उनको स्थानमा नयाँ कमाण्डर नियुक्त गरेको छ । सुलेमानीको स्थानमा अब ६२ वर्षका इस्माइल घानीले अब कुड्स फोर्सको नेतृत्व गर्नेछन् । सुलेमानीलाई अमेरिकाले ड्रोन आक्रमण गरी शुक्रबार बिहान इराकको बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा मारिदिएको थियो ।
इरानको इलाइट कुड्स फोर्सका १ लाख २५ हजार सैनिकका नयाँ कमाण्डर घानीले अब सुलेमानीको स्थान लिनेछन् र उनी सिधै इरानका सर्वोच्च नेता अयोतुल्लाह अली खमेनइप्रति उत्तरदायी हुनेछन् । स्काइ न्यूजको समाचार अनुसार घानीलाई नयाँ कमाण्डर घोषणा यर्दै सर्वोच्च नेता खमेनइले उनलाई इरानका ‘सबैभन्दा प्रतिबद्ध कमाण्डरमध्येका एक’ भनेका छन् । खमेनइका अनुसार कुड्स फोर्सको संरचना केही पनि परिवर्तन हुने छैन ।
मेजर जनरल सुलेमानीजस्तै जनरल घानीले पनि ८ वर्ष लामो इराक–इरान युद्ध लडेका छन् । पछि उनी पनि कुड्स फोर्समा आएका थिए । उनको बारेमा धेरै जानकारी नभए पनि उनी फोर्सभित्र लामो समयदेखि निकै शक्तिशाली पोजिसनमा रहेको दावी गरिन्छ । जनरल घानीको मुख्य जिम्मेवारीमध्ये एक उनका लामो समयदेखिका मित्र सुलेमानीको हत्याको बदला लिनको लागि हुने कारवाहीको नेतृत्व हुने अनुमान गरिएको छ ।
जनरल घानीले एकपटक सुलेमानीसँग आफ्नो सम्बन्धको बारेमा कुरा गर्दै ‘हामी युद्धका सन्तान हौं’ भनेका थिए । उनले अगाडि भनेका थिए ‘हामी युद्धको मैदानका कमरेड हौं र हामी युद्धमै मित्र बनेका हौं ।’ इराक इरान युद्धका बेला लाखौं मारिएको विषयमा कुरा गर्दै उनले भनेका थिए ‘कैयौं युवाहरु मारिए तर हामीले जब उनीहरुलाई जान भन्यौं उनीहरु हिच्किचाएनन् । कमाण्डरले सिपाहीहरुलाई आफ्ना सन्तान जस्तै ठाने । सिपाहीको दृष्टिले हेर्दा उनीहरुले यसलाई अल्लाहबाट आएको आदेश ठाने र त्यषे गर्नैपर्छ भन्ने माने ।’
Facebook Comment