हराउँदै गयो फापर खेती
पाल्पा। यहाँ उत्पादित फापर बाली लोपन्मुख अवस्था पुगेको छ।
हिमाली तथा पहाडी भेगमा उत्पादित फापर अन्नबाली हराउँदै गएको हो। व्यावसायिक रुपमा फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा लोपन्मुख अवस्थामा पुगेको हो। उच्च रक्तचाप तथा सुगरका बिरामीले फापर चाखलाग्दो रुपमा खान्छन्। यो परिकार सेवन गर्दा स्वास्थ्यलाई फाइदा हुँदा मधुमेह, उच्च–रक्तचाप, कब्जियत, मोटोपन घटाउन विशेष रुचिका साथ खाने गर्दछन्। मानिसको स्मरणशक्ति बढाउन फापर खानु लाभदायक मानिन्छ। तीते र मीठो गरी दुई थरिको फापरको उत्पादन हुँदै आएको छ।
प्रदेश नं ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालयले २०७६ मा खाद्यान्न वासलातका अनुसार पाल्पामा ४२५ हेक्टर क्षेत्रमा फापर खेती हुन्छ। फापर ३९८ मेट्रिक टन उत्पादन हुने निर्देशनालयको तथ्याङक उल्लेख छ। उत्पादिन फापरमध्ये ३२५ मेट्रिक टन उपभोग्यका रुपमा प्रयोग हुने देखिन्छ।
कृषि ज्ञान केन्द्रका प्रमुख शिव अर्यालले फापरलगायतका रैथाने अन्नबाली उत्पादनमा कमी आएको बताए। उनले रैथाने अन्नबाली संरक्षण तथा प्रवद्र्धन गर्ने कार्यक्रम रहेको अर्यालले बताए। उन्नत जातका अन्नबालीप्रति आकर्षित हुँदा बीउमा परनिर्भर बढ्दो छ। रैथाने बाली लोप हुँदा किसान मर्कामा छन्। कोदो फापर तरुल लगायतका रैथाने बाली संरक्षण गरी बीउमा समेत आत्मनिर्भर हुन जरुरी छ।
जिल्लामा फापरको माग बढ्दो छ। सहरी क्षेत्र फापरबाट विभिन्न परिकार तयार गरी खाने चलन बढ्दो छ। जिल्ला तथा जिल्लाबाहिर सञ्चालित मेला, महोत्सवमा फापर रोटी र ढिलो परिकारमा स्वाद लिन्छन्। किसानले उत्पादनप्रति चासो नहुँदा बर्से्नि उत्पादनमा कमी हुँदै गएको छ।
फापर बाली उत्पादनमा सरकारको चासो नहुँदा निकै नै महत्वपूर्ण अन्नबाली लोप हुँदै गएकामा बूढापाकाहरु चिन्तित देखिएका छन्। फापर बाली उत्पादनमा चासो नदिँदा फापर बाली लोपोन्मुख अवस्था पुगेको हो। पछिल्लो समय युवा पुस्तामा फापरका परिकारको आकर्षण बढेको देखिन्छ।
व्यावसायिक रुपमा यसको खेती गर्न छाडेपछि पाल्पा लगायतका पहाडी जिल्लामा लोप भएको हो। मकै खेतीपछि खेतबारीमा फापर खेती हुँदै आए पनि पछिल्ला वर्षहरुमा फापर खेती फस्टाउन सकेको छैन। रैनादेवी छहरा गाउँपालिका–५ का जङ्गबहादुर आलेले चार–पाँच वर्षदेखि फापर खेती गर्न छाडेको बताए। उत्पादन कम हुने हुँदा फापर खेती गर्न छाडेको उनले बताए। जति मिहिनेत गरे पनि उत्पादन न्यून हुँदा फापर बाली उत्पादन खस्केको हो।
व्यावसायिक रुपमा खेती नहुँदा अहिले फापरको परिकार खान नौलो हुन थालेको हो। गाउँघरका भान्छामा पाक्न छाडेका फापरका परिकारहरु अहिले मेला महोसत्व तथा शहरका भान्छाका चाखलाग्दा परिकार बनेका छन्।
फापर अन्नबालीमा प्रशस्त मात्रामा रेशादार तत्व पाइन्छ फापरमा ‘बी’ भिटामिन, प्रोटिन, खनिज एन्टी अक्सिडेन्ट पोलिफेनोल पाइन्छ। मासु नखाने शाकाहारीका लागि फापर प्रोटिनको धनी स्रोत हुँदा खानुपर्ने हुन्छ। यसमा करिब १० देखि १२.५ प्रतिशत प्रोटिन पाइन्छ।
फापरको प्रोटिनबाट शरीरलाई चाहिने आवश्यक धेरै एमिनो एसिडहरु प्राप्त हुन्छ। फापरमा कोलेस्टेरोल नपाइने हुँदा यो स्वास्थ्यका दृष्टिकोणबाट पनि एक उत्कृष्ट वनस्पतीय भोजन हो।
फापरमा प्रशस्त मात्रामा पाइने खनिजहरु जस्तै जिङ्क, कपर र म्यागनेसियम शरीरलाई स्वास्थ्य राख्ने आवश्यक तत्वहरु हुन्। यसका अलावा रुटिन भनिने लाभदायक एन्टी अक्सिडेन्ट पोलिफेनोल फापरमा प्रशस्त पाइन्छ। नेपालमा दश हजार दुई ९५ हेक्टरमा फापर खेती हुन्छ।
प्रदेश नं ५ मा एक हजार १०८ हेक्टरमा ९७८ मेट्रिक टन फापर उत्पादन हँुदै आएको पाइन्छ।
Facebook Comment