सभामुखको चयनको विषयले नेकपाभित्र ध्रुवीकरण

डिसी नेपाल
२१ पुष २०७६ ८:५७

काठमाडौं। सत्तारुढ दल नेकपाभित्र सभामुख चयनको विषय पेचिलो बन्दै जाँदा पूर्व एमाले र माओवादी पक्षधरको कित्ता छुट्टिन थालेको छ। पूर्व सहमति अनुसार सभामुख आफूले नै पाउनु पर्ने अडान पूर्व माओवादी पक्षधरले राख्न थालेपछि पूर्व एमाले पक्षधर अप्ठेरोमा पर्न थालेको छ।

पछिल्लो समय नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि कुनै पनि हालताम सभामुख पद नछोड्न पूर्व माओवादीले दबाव दिएपनि सभामुखको उम्मेद्वार चयन गर्ने विषय पेचिलो बन्दै गएको हो। आइबार बसेको सचिवालय बैठकमा सभामुखको उम्मेद्वार चयनबारे छलफल नै नभएको नेताहरुले बताएका छन्।

पार्टी स्थायी कमिटी बैठकले सभामुखको उम्मेद्वार चयन गर्ने जिम्मा दुई अध्यक्षलाई दिएपनि यो विषयमा सहमति जुट्न सकेको छैन।  प्रधानमन्त्री केपी ओली अबको संसद पेचिलो हुने भन्दै अनुभवी र आफू निकटलाई सभामुख बनाउन चाहन्छन्।

ओलीले पूर्व सभामुख सुवास नेम्वाङलाई सभामुख बनाउन सहयोग गर्न प्रचण्डलाई आग्रह गरेको ओली निकट स्रोतले जनाएको छ। नेम्वाङको नाममा प्रचण्डको पनि असमति छैन। तर प्रचण्डमाथि पूर्व माओवादीबाटै सभामुख बनाउनु पर्ने दवाब छ। पूर्व माओवादी पक्षधरले हरेक कुरामा ‘कम्प्रमाइज’ नगर्न प्रचण्डलाई दबाव दिएका छन्।

दुई दलबीच एकीकरण हुनु अगाडि सभामुख माओवादी र उपसभामुख एमालेलाई दिने सहमति अनुसार सभामुख माओवादी र उपसभामुख एमालेबाट चयन गरिएको थियो। सोही सहमति अनुसार अहिले पनि सभामुख आफूले पाउनु पर्ने दाबी गर्दै आएको छ।

प्रचण्डले उक्त अडान नछोडेपछि नेकपाले सभामुखको उम्मेद्वार टुंगो लगाउन सकेको छैन। नेकपाभित्र सभामुखका लागि नेकपा स्थायी कमिटीका सदस्य सुवासचन्द्र नेम्वाङ, अग्नि सापकोटा, पम्पा भुसालसहित हालका उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले दाबी गर्दै आएकी छन्।

नेकपाभित्र सभामुखको उम्मेदवारको विवादकै कारण ४ पुसबाट सुरु भएको संसद्को हिउँदे अधिवेशन स्थगित भएको थियो। एकपटक बसेको संसद् बैठक सूचना टाँस गरी स्थगित गरिएको थियो। अर्कोचोटि बसेको बैठकले २७ पुसमा पुनः बैठक बस्ने सूचना जारी गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *