विधान विपरित चल्ने हो भने पार्टी नेतृत्वको हालत ज्ञानेन्द्रको जस्तो हुन्छ : पौडेल

डिसी नेपाल
२१ पुष २०७६ ११:५६

चितवन। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी विधानमाथि रहने सुविधा कसैलाई नरहेको भन्दै विधान अनुसार चल्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन्।

नेपाली कांग्रेस रत्ननगर नगरपालिकाले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले संविधानमाथि रहने दाउपेच गर्दा तत्कालीन राजा ज्ञानेन्द्रको कुन हालत भयो, त्यो स्मरण गर्न नेतृत्वलाई आग्रह गरे। ‘जति नै त्यागी तथा आर्दश नेतृत्व भएपनि विधान विरुद्ध चल्ने अधिकार कसैलाई छैन,’ उनले भने।

मुलुकमा कम्युनिष्ट नेतृत्वको अधिनायकवादी सरकार विरुद्ध लड्ने बेलामा पार्टी भित्र गुटगत अभ्यास हावी भएकाले देशभरका कार्यकर्ता निराश भएको भन्दै पौडेलले गुट विशेषयका नभई तमाम कार्यकर्ताको साझा नेता बन्न सभापतिलाई सुभाव दिए।

फरक प्रसंगमा पौडेलले आफ्नो भूमिको सुरक्षा गर्न नसक्ने वर्तमान सरकार कसरी जनताको सरकार हुन सक्छ भनी प्रश्न गरे। वाइडबडी घोटाला, बालुवाटार जग्गा काण्ड, राज्यको सम्पत्तिमा यति समूहको दोहन जस्ता घटनाबाट सरकार नीतिगत रुपमै भ्रष्टाचरीको संरक्षणमा जुटेको प्रमाणित भएको उनले बताए।

पाइला पाइलामा जनताबाट कर उठाइरहेको सरकार कर्मचारीलाई तलब खुवाउन भने विदेशी सामु लम्पसार परेको भन्दै पौडेलले देशको अर्थतन्त्र धाराशायी भइसकेको दाबी गरे। लोकतान्त्रिक समाजवादको जगमा अडेर पार्टीका आधारभूत मूल्य, मान्यता तथा सिद्धान्तको पुर्नव्याख्या गर्नु काग्रेसको आजको आवश्यकता भएको समेत पौडेलले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *