क्रोयसियाको राष्ट्रपतिमा पूर्व प्रधानमन्त्री मिलानोभिक निर्वाचित

डिसी नेपाल
२१ पुष २०७६ १३:०१

क्रोयसिया । क्रोयसियाको राष्ट्रपतिमा पूर्व प्रधानमन्त्री जोरन मिलानोभिक निर्वाचित भएका छन् ।

राष्ट्रपति चयनका लागि भएको निर्वाचनको दोस्रो चरणबाट उनी निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अधिकारीहरुले ९९ प्रतिशत मत गणना भइसक्दासम्म मिलानोभिकले ५२.७ प्रतिशत मत ल्याएकाले उनी निर्वाचित भएको बताएका हुन्।

आइतबार सार्वजनिक भएको निर्वाचनको मत परिणामअनुसार मिलानोभिकका प्रतिद्धन्द्धी तथा निवर्तमान राष्ट्रपति कोलिन्दा ग्राबर कितारोभिकले ४७.३ प्रतिशत मत पाएक छन् ।

पहिलो चरणको निर्वाचनमा कुल ११ जना उम्मेदवार प्रतिश्पर्धामा रहेका थिए । उनीहरु मध्ये धेरै ल्याउने दुई जनाका बीचमा दोस्रो चरणमा प्रतिश्पर्धा गराइएको हो। पहिलो चरणको निर्वाचत गत डिसेम्बर २२ तारिखमा भएको थियो।

राष्ट्रपतिमा निर्वाचित भएका मिलानोभिकलाई ‘सोसल डेमोक्र्याटिक पार्टी (एसडीपी)’ र अन्य केही पार्टीहरुको समर्थन रहेको थियो।

उनीसँग प्रतिश्पर्धा गरेकी ग्राबरलाई भने सत्तारुढ दल क्रोएसियन डेमोक्र्याटिक युनियन (एचडीजेड) को समर्थन रहेको थियो।

मतदानका लागि योग्य करिब ३८ लाख मतदातामा ५५ प्रतिशतले मात्रै मतदान गरेका निर्वाचन आयोगले जनाएको छ।

क्रोएसियामा हरेक पाँच पाँच वर्षमा राष्ट्रपति चयनका लागि निर्वाचन हुने संवैधानिक व्यवस्था रहेको छ।

आइतबार राती राष्ट्रपतिमा निर्वाचित भएको घोषणा भएपछि नवनिर्वाचित राष्ट्रपति मिलानोभिकले सवै नागरिकको आवाज सुन्ने र सवैको प्रतिनिधित्व गर्ने प्रतिबद्धता जनाएका थिए ।

निर्वाचनमा पराजित भएकी ग्राबरले पनि निर्वाचित मिलानोभिकलाई बधाई दिएका थिए ।

नवनिर्वाचित राष्ट्रपति ५३ वर्षीय मिलानोभिक सन् २०११ को डिसेम्बरदेखि २०१६ को जनवरीसम्म प्रधानमन्त्री भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *