कार्यपालिका बैठकमै वडा अध्यक्षद्धारा मेयरमाथि हातपातको प्रयास

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ का वडाध्यक्ष रामबहादुर क्षेत्रीले मेयर किसान गुरुङमाथि हातपातको प्रयास गरेका छन् ।
योजनाका विषयलाई लिएर शुक्लागण्डकी नगरपालिका–७ का वडाध्यक्ष क्षेत्रीले नै नगरप्रमुख किसान गुरुङमाथि कार्यपालिका बैठकमै हातपातको प्रयास गरेका हुन् ।
कार्यापालिका बैठकमा दश लाख रुपैयाँ लागतका योजनाका विषय छलफल भइरहेका बेला वडा नम्बर ७ का वडाध्यक्ष क्षेत्रीले नगरप्रमुखमाथि हातपातको प्रयास गरेको वडा नम्बर १ का वडाध्यक्ष रविचन्द्र पौडलले डिसीनेपाललाई बताए।
पौडेलले भने, “बैठकमा दश लाखको योजना उपभोक्ता समितिले गर्न पाउनुपर्ने माग गर्दै आएका अध्यक्ष क्षेत्री आवेशमा आएर हातपात गर्न लाग्नुभयो । क्षेत्रीलाई उपप्रमुख सविता रसाइलीले छेक्नुभयो र हातपात हुन पाएन ।”
यस विषयमा नगरपालिकाका प्रवत्ता खिम बहादुर कुमालले कार्यपालिका बैठकमा एजेण्डाका विषयमा सामान्य विवाद भएको र अहिले समाधान भईसकेको बताए ।
यसअघि नगरसभाले दश लाखमाथि लागतका नगरपालिकाका योजना टेन्डरबाट गराउने निर्णय पारित गरेको थियो ।
साझेदारी र खानेपानी योजना उपभोक्ता समितिले गर्न दिने निर्णय भएपनि अरु योजना उक्त रकम भन्दा माथिका भए टेन्डर प्रक्रियाबाट गर्ने निर्णय गरेको थियो।
Facebook Comment