पर्यटनमन्त्रीको आरोपः ‘मिडियाले देशको प्रतिष्ठासँग खेल्न खोजे’

डिसी नेपाल
२२ पुष २०७६ १५:०६

काठमाडौं। पर्यटनमन्त्री योगेश भट्टराईले नेपाली मिडियाहरुले देशको प्रतिष्ठासँग खेल्न खोजेको आरोप लगाएका छन् । उनले अस्ट्रेलियामा आज गरिने भनिएको नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन र्याली सिड्नी प्रहरीले रोकिदिएको विषयमा नेपाली मिडियाले अतिरञ्जित समाचार लेखेर देशको प्रतिष्ठा र मित्रराष्ट्रसँगको सम्बन्धमा खेल्न खोजेको आरोप लगाएका हुन् ।

पर्यटनमन्त्री भट्टराईले फेबुकमा एउटा स्टाटस लेख्दै भनेका छन् ‘अस्ट्रेलियाको सिड्नीमा नेपाली राजदूतावासको आयोजना तथा गैरआवासीय नेपाली संघ लगायतका संघ संस्थाको सहयोगमा नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । न्यू साउथ वेल्स स्टेटका सभामुख सहित अस्ट्रेलियाका पक्ष र प्रतिपक्षी दल र नगरपालिकाका प्रतिनिधि सहितको उपस्थितिमा भएको कार्यक्रममा उहाँहरुका तर्फबाट शुभकामना मन्तव्य पनि व्यक्त भएको थियो । मौन जुलुस मार्फत पर्यटन वर्षको प्रबर्द्धन पनि गरिएको थियो । भएको यही हो । काल्पनिक र गलत समाचार सम्प्रेषण गरेर मुलुकको प्रतिष्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो ? नियत गम्भीर छ ।’

आज पर्यटन वर्षको उद्घाटनका लागि सिड्नीमा पर्यटनमन्त्री योगेश भट्टराईसहित सहभागी भइ र्याली निकाल्ने कार्यक्रम थियो । नेपालको यस वर्षको सबैभन्दा महत्वाकांक्षी मानिएको भ्रमण वर्षको आज अस्ट्रेलियामा उद्घाटन गर्ने कार्यक्रम तय भए पनि यसको लागि आयोजकले स्थानीय प्रशासनसँग अनुमति नलिएको अस्ट्रेलियाको मिडिया साउथएसिया डटकम डटएयुले दावी गरेको थियो । र्यालीमा पर्यटनमन्त्री योगेश भट्टराई, अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, न्यूसाउथ वेल्सका लागि नेपाली कन्सुल जनरल दीपक खड्का, भिक्टोरियाका लागि नेपाली कन्सुल जनरल चन्द्र योञ्जन लगायत सहभागी हुने कार्यक्रम थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *