अझै सम्पन्न भएन भैरहवा–लुम्बिनी–तौलिहवा सडक विस्तार आयोजना
लुम्बिनी । राष्ट्रिय प्राथमिकताको आयोजना भैरहवा–लुम्बिनी–तौलिहवा सडक विस्तारको काम समयमै नसकिने भएको छ । यही पुस २८ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी १ अर्ब ९३ करोड ६३ लाखमा ठेकेदार पक्षसँग ठेक्का सम्झौता भएको थियो । तीस महिना अगाडि रुपन्देहीको भैरहवादेखि, लुम्बिनी हुँदै कपिवस्तुको तौलिहवा जोड्ने ४१ किलोमिटर १ सय ३० मिटर लामो सो सडक विस्तारको ठेक्का भारतीय कम्पनी गावर कन्ट्रक्सन लिमिटेडले पाएको थियो ।
ठेकेदारसँग गरिएको सम्झौता समय सकिन अब एकहप्ता मात्रै बाँकी रहँदा भौतिक प्रगति जम्मा ६० प्रतिशत भएको छ । आयोजनाका प्रमुख प्रदीप शाक्यले भने,“भौतिक प्रगति ६० प्रतिशत भएको छ । ठेकेदार पक्षले थप समयको लागि प्रक्रिया अगाडि बढाएका छन् ।”
ठेकेदार पक्षले समयमै काम सम्पन्न नगरे तापनि आयोजना पक्षले लचकता अपनाउँदै भेरियसनसमेत गरिदिएको छ । उक्त ठेक्का सम्झौताको साढे १२ प्रतिशत भेरियसन भएको छ । समयमै काम नसके पनि ठेकेदार पक्षले २४ करोड २० लाख ३७ हजार ५ सय थप बजेट पाएको छ । उनले भने, “विद्युत् पोलको व्यवस्थापन र केही समय स्थानीयवासीले गरेको अवरोधलाई मध्यनजर गरेर भेरियसन गरिएको हो ।”
आयोजना प्रमुख शाक्यले त्यसो भने तापनि उक्त सडक विस्तारमा स्थानीयवासीको अवरोध भएको देखिदैन । भारतीय ठेकेदार कम्पनी गावरले शुरुमा कामको गति बढाएको भए पनि पछिल्लो समय सुस्तगतिमा काम गरिरहेको छ । यसका कारण भैरहवादेखि लुम्बिनी जानआउन समेत कठिनाइ भइरहेको छ ।
भैरहवाको बुद्धचोकदेखि विमानस्थलसम्म छ लेन, विमानस्थलदेखि लुम्बिनी–पर्सा चौराहसम्म चार लेन र त्यहाँबाट तौलिहवासम्म दुई लेनको सडक बनाउने गरी ठेक्का सम्झौता भएको हो । एशियाली विकास बैंकको सहयोगमा सम्पन्न हुने उक्त सडक समयमै सम्पन्न नहुँदा प्रदेश–५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ र नेपाल भ्रमण वर्ष २०२० लाई पनि प्रत्यक्ष असर गरेको देखिएको छ ।
‘भैरहवादेखि लुम्बिनी बाटो अस्तव्यस्त ढङ्गले बनाउँदा हिँडडुल गर्नै गाह्रो भएको छ । सडक धुलायम्मै छ । मुख्य पर्यटकीय गन्तव्य लुम्बिनी आउनजान नै समस्या भएको छ” नागरिक समाजका अगुवा उमेशचन्द्र रिजालले बताए।
यता सडक निर्माणको ठेक्का पाएको निर्माण कम्पनी गावर कन्सट्रक्सनका प्रतिनिधि मधु आचार्यले विद्युत् प्राधिकरणले बिजुलीका खम्बा समयमै नसारिदिँदा, खानेपानी कार्यालयले तत्काल पाइप व्यवस्थापन नगर्दा समयमै काम नसकिएको बताए । उनले भने, “हामीले आगामी असारसम्म समय थप माग गरेका छौं । त्यो समयमा सक्छौं ।” ठेकेदार पक्षका अनुसार लुम्बिनीदेखि तौलिहवा सम्मको खण्डमा एक किलोमिटर बाहेक अन्य सडकको काम अन्तिमचरणमा पुगेको छ भने लुम्बिनी पर्सा चोकदेखि भैरहवातर्फको सडक खण्डमा नौ किलोमिटमा आधारको तयारी भएको छ ।
वर्षेनि लाखौं आन्तरिक तथा बाह्य पर्यटक लुम्बिनी भ्रमणमा पुग्छन् । साँगुरो, खाल्डाखुल्डी र धुलाम्य सडकका कारण लुम्बिनी पुग्न पर्यटकलाई निकै समस्या छ । लुम्बिनी पुगेका पर्यटकलाई तिलौराकोट पुग्न झनै समस्या छ । साँगुरो र खाल्डाखुल्डी सडकले दुर्घटनाको दरसमेत बढ्दो छ ।
सडकको स्तरोन्नतिका लागि सरकारले ३० महिनाअघि भैरहवा–लुम्बिनी–तौलिहवा सडक विस्तार गर्न ठेक्का सम्झौता गरी निर्माण थालेको हो । सडकखण्डमा रहेका २ हजार ६८ रुख सबै हटाइसकिएको छ । आयोजनाका अनुसार छ लेन सडकको बीचभागमा ‘ग्रिन वेल्ट’, दुई–दुई लेनको सडक र दायाँबायाँ सर्भिस लेनसहितको ‘फुटपाथ’समेत निर्माण गरिनेछ ।
सडक खण्डमा ३६ वटा यात्रु प्रतीक्षालयका साथै काटिएका रुखको ठाउँमा ५ हजार १ सय रुख रोप्ने जनाइएको छ । सडकको प्राविधिक कामको समन्वय, निगरानी र परीक्षण कोरिया इञ्जिनीयरिङ कन्सलटेन्टले गरिरहेको छ । सडक स्तरोन्नतिपछि यो सडकले तौलिहवा र लुम्बिनी आसपासका अन्य सडकलाई भैरहवा र अन्तर्राष्ट्रिय विमानस्थलसँग जोड्नुका साथै यस क्षेत्रको कृषि, पर्यटक तथा बजारीकरणमा ठूलो योगदान पुग्ने विश्वास गरिएको छ ।
Facebook Comment