‘इराकमा रहेकाे सबै नेपाली सुरक्षित’
काठमाडौं । अमेरिका–इरान तनाव बढिरहेका बेला इराकमा बस्ने नेपाली सुरक्षित भएको कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले बताएका छन् । डिसी नेपालसंग कुरा गर्दै उनले अहिलेसम्म अफ्ठेरो परेको छ भनी सम्पर्कमा कोही नेपाली नआएको बताए । इराकमा नेपाली राजदुतावास नभएकाले कुवेतस्थित नेपाली दुतावासले हेर्ने गरेको छ ।
गत शुक्रबार इरानी उच्च सैन्य कमाण्डरको हत्या भएपछि इरान–अमेरिका तनाव उत्सर्गमा पुगेको हो । अमेरिका–इरान तनाव बढेपछि इराकमा रहेका नेपालीको सुरक्षामा पनि चासो बढेको छ । नेपालीहरु इराकस्थित अमेरिकी सैन्य अखाडामा काम गर्न त्यहाँ पुगेका हुन् ।
इराक स्थित अमेरिकी दूतावासमा कार्यरत ७ नेपालीसहित ४० जनालाई सुरक्षित स्थानमा सारिएको त्यहॉ स्थित डिसी संवाददाता विनोद श्रेष्ठले जानकारी दिए । उनका अनुसार इराकमा कम्तिमा १ सय ४० जना नेपाली कार्यरत रहेका छन् ।
अमेरिकी दूतावासका कामदार स्वदेश फिर्ता भएको सम्बन्धमा आफुहरुलाई थाहा नभएको राजदूत भण्डारीले बताए । उनले कुनै पनि समस्यामा परेको अवस्थामा खबर गर्न समेत आग्रह गरेका छन् ।
अमेरिकी दूतावासमा काम गरिरेका सुशील गुरुङ्का अनुसार मंगलबारबाट स्वदेश फिर्ता गर्ने कार्य रोकिएको छ । परिस्थिति सहज भएकाे भन्दै स्वदेश फिर्ता रोकिएको हो ।
Facebook Comment