सन्तोषको कीर्तिमानी गोलमा च्यासलको बराबरी
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लब र च्यासल युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा पुलिस र च्यासलले २-२ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।
रोमान्चक भएको खेलमा पुलिसका लागि निर कुमार राई र सुमन लामाले एक एक गोल गरे । च्यासलका लागि दुवै गोल सन्तोष साहुखलले गरे ।
पहिलो हाफमा २–१ ले पछि रहेको च्यासलले सन्तोष साहुखलको व्यक्तिगत दोस्रो गोलमा २–२ को बराबरी गरेको हो । उनले ४९ मिनेटमा गोल गरेका हुन् ।
यस सँगै सन्तोषले लिगमा १०१ औं गोल पुरा गरेका छन् । लिगमा शतक गोल गर्ने सन्तोष पहिलो खेलाडी हुन् ।
यस अघि खेलको ५ औं मिनेटमा निर कुमार राईले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । निरले सुमन लामाको फ्रिकिक पासमा भली गोल गरे ।
तर, खेलको १८ औं मिनेटमा सन्तोष साहुखलले गोल गर्दै च्यासललाई खेलमा फर्काए । त्यसपछि खेलको ४० औं मिनेटमा सुमन लामाले गोल गर्दै पुलिसलाई २–१ को अग्रता दिलाएका थिए ।
Facebook Comment