सीमा क्षेत्रका अवैध क्रियाकलाप नियन्त्रणमा सशस्त्रको सक्रियता
लुम्बिनी । सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रणमा सशस्त्र प्रहरीबल सक्रिय देखिएको छ । सशस्त्र प्रहरी बल २७ नम्बर गण रुपन्देहीका गणपति प्रहरी उपरीक्षक तेजप्रसाद पोख्रेलका अनुसार सीमा अपराध नियन्त्रणमा जिल्लाका चार विओपी, पाँच वेश र तीन गुल्ममा रहेका पाँचसय सशस्त्र प्रहरीका अधिकृत तथा जवान २४सैंँ घण्टा तयारी अवस्थामा रहेका छन् ।
उनले भने,“सीमा अपराध, चोरीपैठारी नियन्त्रणमा हामी अलर्ट अवस्थामा छौं ।” सशस्त्र प्रहरीले सीमामा हुने अवैध क्रियाकलाप रोक्न सक्रियता देखाएसँगै हप्ता दिनमै लाखौं मूल्यको सामान बरामद गरेको छ । विओपी पजरकट्टिले मङ्गलबार राति ९ लाख ८२ हजार १ सय ५० बराबरको कपडा बरामद गरेको छ ।
पजरकट्टिका रेशम रोक्काको कमाण्डमा खटिएको मोबाइल टोलीले रोहिणी गाउँपालिका–२ मैनिहवाबाट १० बोरा कपडा बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक सुशीलबाबु पन्तले बताए । बरामद कपडामा लामा ज्याकेट ११ थान, जाकेट १ सय ३१ थान, स्वीटर १ सय १५ थान, पाइन्ट २८ थान, सर्ट २० थानलगायत छन् ।
यस्तै, सशस्त्र प्रहरी बल नेपाल नं ३८ गुल्म राजश्व भन्सार सुरक्षागस्तीको टोलीले पनि पिबी ११ ए डब्लु २८९९ नंको भारतीय नम्बर प्लेटको फोर्ड ब्राण्डको कारसहित मोटरपार्टसका सामान बरामद गरी भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको जनाएको छ । राजस्व भन्सार सुरक्षा गस्तीले बरामद गरेको कार भन्सार मूल्यअनुसार ११ लाख १३ हजार रहेको छ ।
यसैगरी गुल्म २७ नम्बरबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डी इलाकामा जाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी लु १ च ७१६८ नं को बलेरो सिगल पिकअप प्राइभेट गाडीमा नेपालतर्फ ल्याइँदै गरेको विभिन्न हार्डवयरका सामान बरामद गरेको छ । गाडी चालक २२ वर्षीय भोला निसादसहित ९ लाख २४ हजार छ सय बराबरको समान भन्सार पठाएको छ । भारतबाट अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको बुलेट मोटरसाइकलमा प्रयोग हुने २ सय लिटर (१० कार्टुन) मोबिल १ लाख ४ सय बराबरको बरामद गरी भन्सार कार्यालयमा दाखिला गरिएको छ ।
Facebook Comment