पाल्पाको बगनासकाली गाउँपालिका मुलुककै पहिलो बालमैत्री विद्यालय गाउँपालिका घोषणा
पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका मुलुककै पहिलो बालमैत्री विद्यालय गाउँपालिका बनेको छ ।
गाउँपालिकाभित्र रहेका ३० सामुदायिक र सात संस्थागत गरी ३७ विद्यालयलाई बालमैत्री घोषणा गरिएपछि मुलुककै पहिलो बालमैत्री विद्यालय गाउँपालिका बनेको हो ।
विद्यालयका लागि निर्धारण गरिएका ५० वटा सूचकको उपलब्धिका आधारमा सबै विद्यालयलाई बालमैत्री घोषणा गरेपछि नेपालका ४६० गाउँपालिकामध्ये बगनासकाली मुलुककै पहिलो बालमैत्री विद्यालय गाउँपालिका बनेका हुन् ।
गाउँपालिकाले पुस ६ गतेदेखि बालमैत्री विद्यालय घोषणा अभियान शुरु गरेर पुस २१ गतेभित्रमा सबै विद्यालयलाई बालमैत्री घोषणा गराउन सफल भएपछि बगनासकाली बालमैत्री विद्यालय गाउँपालिका घोषणा भएको बालमैत्री स्थानीय शासन समन्वय एकाइका सम्पर्क व्यक्ति मनोज आचार्यले बताए ।
गाउँपालिकाका पदाधिकारीसहितको टोलीले निरीक्षण तथा अनुगमनपश्चात् बालमैत्री विद्यालय घोषणा गरेको उनले बताए । न्यूनतम सूचक पूरा गरी अनुगमन समितिले प्रतिवेदन पेश गरेपछि प्रतिवेदनका आधारमा बालमैत्री विद्यालय घोषणा गरिएको उनले बताए । ८० प्रतिशत सूचक पूरा गरेका विद्यालयलाई बालमैत्री विद्यालय घोषणा गर्न पाइने छ । बगनासकाली गाउँपालिकाका ३७ विद्यालयमा तीन हजार ६५० विद्यार्थी अध्ययनरत छन् ।
बालमैत्री विद्यालय घोषणाका लागि ५० सूचकमध्ये कम्तीमा ८० अंक प्राप्त गर्नुपर्छ । जसमा अधिकांश विद्यालयले ८० भन्दा माथि अंक ल्याएका बगनासकाली गाउँपालिकाकाले जनाएको छ ।
शैक्षिक गुणस्तर वृद्धि गरी विद्यार्थीलाई राम्रो शिक्षा दिने लक्ष्यका साथ नेपालकै पहिलो बालमैत्री विद्यालय घोषणा गराउन सफल भएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए । बेला बेलामा अनुगमन गरी निरन्तरता दिने उनको भनाइ छ ।
बालमैत्री विद्यालयका सूचक
बालबालिकालाई शारीरिक तथा मानसिक दण्ड दिने गरेको नगरेको, दण्डरहित वातावरण र बालमैत्री व्यवहार प्रदर्शन गर्दै शिक्षण क्रियाकलाप गर्ने गरेको/नगरेको, विद्यालय व्यवस्थापन समितिमा बाल क्लब सहभागिता सुनिश्चित गरेको/नगरेको, शिक्षक विद्यार्थी कर्मचारी तोकेको पोशाकमा समयमा आउने गरेको/नगरेको बालमैत्री विद्यालयका सूचक हुन् ।
त्यस्तै तोकेबमोजिम शिक्षण तथा अतिरिक्त क्रियाकलाप गर्ने गरेको/नगरेको, विद्यालय हाताभित्र सुर्ती गुट्का धु्रमपान मदिरापान वा अन्य कुनै पनि नशालु पदार्थ सेवन नगर्ने तथा विद्यालय आसपास १०० मिटरभित्र उक्त पदार्थ बिक्री वितरण गर्न नपाइने व्यवस्था कार्यान्वयन भएको/नभएको, बालमैत्री शौचालयको व्यवस्था भएको/नभएको, साबुनपानीले हात धुने बानीको विकास गराउने कार्यक्रम गरेको/नगरेको, सफा पिउने पानी र बालमैत्री धाराको व्यवस्था भएको/नभएको अनुगमन गरेर पूरा गरेका विद्यालयलाई मात्र बालमैत्री घोषणा गरिन्छ ।
त्यस्तै प्राथमिक उपचारका लागि उचित व्यवस्थापन र समय समयमा स्वास्थ्य परीक्षणको व्यवस्था भएको/नभएको, बालमैत्री सम्पर्क शिक्षक नियुक्त गरेको/नगरेको, विद्यालय हाताभित्र बालबगैँचा र आवश्यक खेल सामग्री भएको/नभएको, विद्यालय उमेरका सम्पूर्ण बालबालिका अनिवार्य विद्यालय भर्ना र निरन्तरता भएको/नभएको, विद्यालयमा प्रत्येक हप्ता अतिरिक्त क्रियाकलाप गर्ने र सबै बालबालिकालाई भाग लिन सक्ने वातावरण भएको÷नभएको बालमैत्री सूचंकमा समेटिएको छ ।
बालबालिकासँग सरोकार राख्ने विषयमा निर्णय गर्दा बालबालिकाको सहभागिता गराउने गरेको/नगरेको, कुनैपनि विद्यार्थीलाई धर्म जात धनी गरिवको नाममा भेदभाव गर्ने गरेको/नगरेको, जंकफुड निषेध गरेको/नगरेको, विद्यार्थीले आफ्नो नामले मात्र सम्बोधन गर्ने गरेको/नगरेको, स्तनपान कक्षको व्यवस्था भएको/नभएको, विद्यालय तथा हाताभित्र अनधिकृत प्रवेशमा रोक लगाउने गेट भएको/नभएकोलगायत सूचक पूरा भएपछि बालमैत्री विद्यालय घोषणा गर्न पाइन्छ ।
यसैगरी जिल्लाको रम्भा गाउँपालिकाले पनि बालमैत्री विद्यालय घोषणा कार्यक्रमलाई तीव्रता दिएको जनाएको छ
Facebook Comment