अनेरास्ववियुको एकीकरणप्रति असन्तुष्टि, विद्यार्थीका माग सम्बोधन हुन्छ : प्रचण्ड

डिसी नेपाल
२३ पुष २०७६ १८:३६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुको एकीकरणप्रति असन्तुष्टि जनाउँदै आएका विद्यार्थीले बुधबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गरेका छन् । आफूहरुलाई अन्यायपूर्णरुपमा एकता प्रक्रियाबाट बनेको केन्द्रीय कमिटीमा समावेश नगरिएको भन्दै पूर्वअनेरास्ववियू (क्रान्तिकारी)का पदाधिकारीले दाहाललाई भेट गरेका हुन् ।

भेटमा अध्यक्ष दाहालले एकताप्रति गुनासो आइरहेकाले सम्बोधन गर्ने बताएको क्रान्तिकारीका सचिव डिवी साउदले जानकारी दिए । उनले अनेरास्ववियुका इञ्चार्ज हितमान शाक्य, सहइञ्चार्ज विनोढ ढकाल, संयोजक ऐन महर र सहसंयोजक रञ्जीत तामाङसँग छलफल गरेर असन्तुष्टि विद्यार्थीको माग सम्बोधन गर्न आग्रह गर्ने बताए ।

पूर्वसचिव साउदले विद्यार्थी राजनीतिमा क्रियाशील हुँदाहुँदै व्यक्तिगत रिसईवीका कारण आफूहरुलाई केन्द्रीय कमिटीमा नराखिएको बर्ताए। उनले आफूलाई परेको अन्यायबारे महासचिव विष्णुप्रसाद पौडेल, विद्यार्थी इञ्चार्ज हितमान शाक्य, सहइञ्चार्ज विनोद ढकाललाई समेत जानकारी गराउने बताए।

अनेरास्ववियुको केन्द्रीय कमिटीमा पूर्वअनेरास्ववियुबाट १ सय ८० र क्रान्तिकारीबाट १ सय ५५ गरी ३ सय ३५ जनाको बनाइएको छ । पूर्वसचिव साउदका अनुसार कमिटीमा पूर्वक्रान्तिकारीका १३ जना पदाधिकारीलाई राखिएको छैन । क्रान्तिकारीको महाधिवेशनबाट निर्वाचित भएका उपमहासचिव दीपक जोशी, टुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, आशा तमु तथा सचिव डिवी साउद र नारायण खनाललाई एकतापछि बनेको केन्द्रीय कमिटीमा नसमेटिएपछि असन्तुष्टि भएका छन् ।

एकतापछि बनेको अनेरास्ववियुको यही पुस १८ गते ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी, १ सय ११ केन्द्रीय सदस्यको सचिवालय, ४५ जनाको स्थायी कमिटी र २१ सदस्यीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगसमेत गठन गरी टुङ्ग्याइएको छ । अनेरास्ववियुको राष्ट्रिय भेला यही पुस २७ गते र केन्द्रीय कमिटी बैठक पुस २८ गते डाकिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *