पौडेल समूहका जिल्ला सभापतिहरुलाई देउवाको चिया निम्तो, भेलाबाट पौडेल उत्साहित

डिसी नेपाल
२३ पुष २०७६ १९:०६

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सहूका जिल्ला सभापतिहरुलाई पार्टी सभापति शेरबहादुर देउवाले चियापानका लागि बोलाएका छन्।

सभापति देउवाको निर्णयविरुद्ध छलफल गर्न पौडेलले बोलाएको भेलामा सहभागी हुन काठमाडौंमा आएका करिब ४६ जना जिल्ला सभापतिहरुलाई सभापति देउवाले बिहीबार बिहान १० बजे चियापानका लागि आफ्नो निवास बुढानिलकण्ठमा बोलाएका छन्।

दैलेख जिल्ला सभापति कृष्णकुमार विसीले सभापति देउवाले चियापानका लागि बोलाएको खबर आफुले पाएको बताए। उनले भने, ‘भोली (बिहीबार) बिहान १० बजे बुढानिलकण्ठमा चियापानका लागि बोलाइएको छ।’

सभापति शेरबहादुर देउवाले बहुमतका आधारमा आफुहरुलाई पेलेको भन्दै वरिष्ठ नेता पौडेलले जिल्ला सभापतिहरुसँग सुझावका लागि भन्दै भेला बोलाएका थिए। तीन दिनसम्म पार्टी मुख्यालयमा भएको पौडेल पक्षीय भेला बुधबार सकिएको छ। तर, भेलाको निर्णय भने सार्वजनिक गरिएको छैन। एक सभापतिले डिसी नेपालसँग भने, ‘सभापति देउवासँगको भेटपछि निर्णयहरु सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ।’ उनले भेलाको निश्कर्ष मिलेर अगाडि बढ्नुपर्छ भन्ने रहेको बताए।

यता पौडेलले बोलाएको भेलामा बहुमत जिल्ला सभापतिहरु सहभागी भएपछि दबाबमा परेका सभापति देउवाले पार्टीको आगामी महाधिवेशनबारे भएका निर्णयहरु परिमार्जन गर्न तयार रहेको सन्देश पौडेललाई दिएका छन्। देउवा निकट मानिने पार्टी सहमहामन्त्री डा. प्रकाशसरण महतले डिसी नेपालसँग भने, ‘सभापतिले परिमार्जन गर्न तयार छौं भन्ने सन्देश दिइसक्नु भएको छ। पार्टीको केन्द्रीय समितिमा आउनुहोस बैठकमा आवश्यक देखिएका परिमार्जन गर्न सकिन्छ भन्ने छ।’

तर, पौडेल पक्षले सभापतिको यो सन्देशबारे कुनै प्रतिक्रिया जनाइनसकेको बताइएको छ। पछिल्ला दिनहरुमा पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला समूहले पार्टीको केन्द्रीय समिति बैठक नै बहिस्कार गर्दै आएको छ।

यसैबीच वरिष्ठ नेता पौडेलले केन्द्रीय कार्य समितिको बैठकबाट भएका निर्णयविरुद्धमा आफु निकट जिल्ला सभापतिहरुले समर्थन जनाएको बताएका छन्।

बुधबार सम्पन्न जिल्ला सभापतिहरुको भेलापछि वरिष्ठ नेता पौडेलले जिल्ला सभापतिहरुले दिएको सुझावबाट आफु उत्साहित भएको बताए।

उनले पुष ११ गते पार्टीको केन्द्रीय कार्य समिति बैठकले गरेका निर्णयहरु खारेज गर्न जिल्ला सभापतिहरुले समर्थन जनाएको बताए। केन्द्रीय कार्य समितिको नाउँमा भएका निर्णयहरु पार्टीको हितमा नभएको र १४ औं महाधिवेसनलाई अनिश्चित बनाएको उनको आरोप छ।

त्यस्तै नेता कृष्ण सिटौलाले कम्युनिष्टको सरकारबाट उत्पन्न परिस्थितिहरुमाथि एक भएर लडनुपर्ने अवस्थामा पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो गुटको मात्र बैठक बसाई निर्णय गरेको बताए। उनले सभापति देउवालाई पार्टीको नभई आफ्नो गुटको मात्र सभापति बनेको आरोप लगाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *