श्रम मन्त्री यादवले पूर्वमन्त्रीहरुसँग मागे सुझाव

डिसी नेपाल
२३ पुष २०७६ २१:०५

काठमाडौं। गोकर्ण विष्टलाई विस्थापित गरेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी समाल्न आइपुगेका रामेश्वर राय यादवले मन्त्री बनेको एक महिनापछि पूर्व श्रम मन्त्रीहरुलाई बोलाएर सुझाव मागेका छन्।

बुधबार मन्त्रालयमै मन्त्री यादवले पूर्वमन्त्रीहरुसँग मन्त्रालयहरुको आगामी रणनीति र योजना बारे जानकारी दिदै अनुभव सटासाट गरेका छन्।

मन्त्री यादवले मंगलबार मात्रै एक महिने कार्य प्रगति विवरण सार्वजनिक गर्दै आगामी तीन महिने योजना सार्वजनिक गरेका थिए।

समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई सफल पार्न सबैको सहयोग अपरिहार्य रहेको बताउँदै मन्त्री यादवले वैदेशिक रोजगारका क्षेत्रमा देखा परेका विकृति र विसंगति अन्त्यका लागि आफू प्रयासरत रहेको जानकारी दिए। उनले नेपाली कामदारको गन्तव्य रहेका देशमा सुरक्षित वातावरण बनाउने र यो सरकारको लक्ष्य देशमै रोजगारीको सृजना गर्ने रहेको उल्लेख गरे।

मन्त्री यादवले २०४६ साल यता बनेका १७ जना श्रम मन्त्रीहरुलाई निम्ता दिएका थिए । अनुभव साटासाट गर्ने, अहिले देखिएका समस्याहरुको विषयमा छलफल गर्ने र चुनौतीको पहिचान गर्दै आगामी दिनमा कसरी अगाडी बढ्न सकिन्छ भनेर निष्कर्ष निकाल्ने सोचका साथ मन्त्री यादवले बोलाएका बैठकमा जम्मा तीन जना श्रम मन्त्री उपस्थित भए।

पूर्व श्रम मन्त्रीहरु मुकुन्द न्यौपाने, कमल चौलागाई र सरिता गिरी मात्र उपस्थित भए। तैपनि बैठकमा सहभमगी भएका पूर्वमन्त्रीहरुले आफ्नो अनुभव सुनाए।

बैठमा पूर्व मन्त्री न्यौपानेले मन्त्रालयले काम गर्ने तौरतरिका र सोच्ने तरिकामा रुपान्तरण रहेको बताउँदै कुनै पनि काम गर्नुभन्दा पहिला विज्ञ र सरोकारवालाहरुसँग सरसल्लाह गरी अगाडी बढ्न सुझाव दिए।

उनले पहिला उत्पादनको विकास र विस्तार नगरि रोजगारीको विस्तार नहुने भन्दै उत्पादकको विकासमा ध्यान दिन आग्रह गरे। त्यस्तै पूर्व मन्त्री न्यौपानेले योजना र तयारी बिना मन्त्रीहरुले सस्तो लोकप्रियताको निम्ति बोल्ने तर, त्यस अनुरुप काम गर्दा जनतामा वितृष्णा फैलिएको उल्लेख गर्दै सरकारले बनाएको कार्ययोजना प्रभावकारी ढंगले लागू गर्नुपर्ने कुरामा जोड दिए।

त्यस्तै पूर्वमन्त्री गिरीले छिमेकी देश चीनले गरेको मानव संशाधनको विकास र भौतिक विकासको सुक्ष्म अध्यन गरी त्यसअनुसार अगाडि बढ्न आग्रह गर्दै अन्य देशहरु विकसित हुँदा हाम्रो मुलुक किन विकास हुन सकेन भन्ने प्रश्नको गहन अध्यन गर्नुपर्ने बताइन्।

त्यसैगरी अर्का पूर्वमन्त्री चौलागाईले अस्तव्यवस्त बनेको वैदेशिक रोजगारी क्षेत्रको गम्भीररुपमा अध्यन गरि कार्यक्रम अघि सार्नुपर्ने बताए । वैदेशिक रोजगारीका साथै आन्तरिक, कृषि, जल र पर्यटनका क्षेत्रमा पनि ध्यान दिन उनले आग्रह गरे।

पूर्व मन्त्रीहरुको अनुभाव र सुझाव पछि मन्त्री यादवले अनुभव र सुझावका आधारमा मन्त्रालयले आगामी रणनीति तय गर्ने पनि बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *