इस्लामिक देश हुनुपूर्व ५० वर्षअघि इरानमा यति बोल्ड थियो जीवन, हेर्नुहोस् ३० तस्वीर
काठमाडौं। पछिल्लो समय इरान निकै चर्चामा छ । अमेरिकासँगको तनावका कारण चर्चामा रहेको इरानका विषयमा मानिसहरुलाई चासो बढ्दै जाँदा केही अन्तर्राष्ट्रिय मिडियाहरुले आजभन्दा ५० वर्षअघिको इरानको बारेमा केही खुलासा गरेका छन् । १९७० को दशकमा इरानको जीवनशैलीका विषयमा त्यतिबेलाका विभिन्न म्यागजिनमा प्रकाशित फोटोहरु संकलन गरी केही अन्तर्राष्ट्रिय मिडियाले रिपोर्ट बनाएका छन् ।
अहिले इरानमा शरिया कानुन लागू गरिएको छ । यो कानुनका कारण त्यहाँ धेरै कुरामा प्रतिबन्ध छ । महिलाहरुले हिजाब लगाउनु अनिवार्य छ । अहिले जसले शरिया कानुन मान्दैनन् उनीहरुलाई कडा सजाय दिइन्छ । तर ७० को दशकमा इरान यस्तो थिएन । त्यहाँ यति धेरै आधुनिकता थियो कि त्यो स्तरको आधुनिकता पश्चिमी देशहरुमा आज देखिन्छ ।
इरान त्यतिबेला पश्चिमी देशहरुभन्दा पनि आधुनिक थियो । इस्लामिक क्रान्तिभन्दा पहिले इरानमा पश्चिमी संस्कृति निकै चल्तीमा थियो । त्यतिबेला मानिसहरु पश्चिमी संस्कृतिको भरपुर आनन्द लिन्थे । त्यतिबेला खुलापन थियो र स्वतन्त्रता थियो । पहिरन र खानपानलाई लिएर कुनै रोक थिएन । कला, संगीत, फिल्म र साहित्यका विषयमा त्यहाँका मानिसहरु निकै जागरुक थिए । जीवनशैलीका विषयमा कुनै रोक थिएन ।
अहिले भने यस्तो छैन । हालै इरानमा ८ जना सेलिब्रेटीलाई सामाजिक संजालमा मोडलिङको फोटो शेयर गरेको अभियोगमा जेल सजाय दिइएको छ । यी आठै जना सेलिब्रेटीमाथि इस्लाम विरोधी संस्कृतिको प्रचार प्रसार गरेको आरोप लगाइएको थियो । यसलाई शरिया कानुनको विरुद्ध भएको ठहर गर्दै उनीहरुलाई जेल सजायको फैसला भएको थियो ।
७० को दशकमा इरानमा चर्चित पप गायिका गुगुश थिइन् । उनका टेप र एल्बम आज पनि ती व्यक्तिहरुसँग भेटिन्छन् जो इरान छोडेर कुनै अन्य देशमा गएर बसोबास गरिरहेका छन् । १९७९ मा गुगुश पनि इरान छाडेर बेलायतमा गएर बसेकी थिइन् । त्यतिबेला इरानमा इस्लामिक क्रान्ति चलिरहेको थियो ।
यो क्रान्तिअघि महिलाहरुलाई यतिसम्म स्वतन्त्रता थियो कि उनीहरु कुनै पनि कपडा लगाउन सक्थे । जहाँ पनि जान आउन पाउँथे । आफ्नो मन लागेको काम गर्न पाउँथे । ७० को दशकमा इरानका मानिसहरु पश्चिमी पहिरनबाट निकै प्रभावित देखिन्छन् । उनीहरु पश्चिमी पहिरन र संस्कृतिलाई अपनाइसकेका थिए । पुरुष र महिलाहरु समुद्र किनार र स्विमिङ पुलमा तिनै कपडा लगाएर नुहाउँथे जो त्यतिबेला पश्चिमा देशमा प्रचलित थिए । आज भने यहाँ महिलाहरु यस्तो गर्न पाउँदैनन् । उनीहरुले हिजाब लगाउनै पर्छ ।
७० को दशकका फोटोहरुमा इरानमा बेलबटम, ठूलो कलरको सर्ट, लामो कपाल आदि देख्न पाइन्छ । महिलाहरु लंग बुट लगाउँथे । आफूहरुलाई आवश्यकताको हिसाबले जस्तो कपडा ठिक लाग्छ त्यस्तै लगाउँथे । त्यतिबेला इरानको शासन सत्ता शाह मोहम्मद रेजा पहलवीको हातमा थियो । १९७९ मा इस्लामिक क्रान्तिपछि शाहलाई सत्ताबाट हटाइयो । शाहलाई सत्ताबाट हटाएसँगै इरानको स्वतन्त्र जीवनशैलीमा प्रतिबन्ध लगाइयो ।
शाहलाई सत्ता मात्र होइन देश नै छाड्न बाध्य बनाइयो । त्यसपछि रुहोल्लाह खमनेइले देशको शासनसत्ता आफ्नो हातमा लिए । इरानमा इस्लामिक राज्य स्थापना भयो । शरिया कानुन लागू गरियो । ८० को दशकमा इरानमा शरिया कानुन लागू भएपछि त्यसपछि यहाँ धेरै कुरामा कडाइ छ । यसको पालन नगरेमा निकै कडा सजाय दिइन्छ ।
यद्यपि आजकल विश्वस्तरीय खेलाडीहरुमा भने इरानी खेलाडीहरुको उपस्थिति छ । तर, यस्ता खेलाडीको संख्या निकै कम छ । यतिमात्र होइन उनीहरुको संस्कृति र परम्पराको प्रचार प्रसार पनि निकै कम हुन्छ । पर्यटनका विषयमा पनि इरान सरकार निकै कम प्रचार प्रसार गर्छ । उनीहरुका पर्यटकीय स्थलका विषयमा पनि अहिले निकै कम जानकारी पाइन्छ । तर, ७० को दशकमा भने पश्चिमी देशबाट हजारौंको संख्यामा पर्यटक इरान घुम्न जान्थे । अहिले इरान निकै विकसित भइसकेको छ तर यसका सबै काम शरिया कानुनअनुसार नै हुन्छ । केही दिनको लागि इरान कामले वा घुम्न जाने विदेशीहरुलाई पनि शरिया कानुन लागू हुन्छ ।
Facebook Comment