आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउने कथामा ‘चिसो एस्ट्रे’, जेठको गर्मीमा प्रदर्शन हुने
काठमाडौं। चलचित्र ‘चिसो एस्ट्रे’ आउँदो वर्ष २०७७ को जेठ १६ मा सार्वजनिक प्रदर्शनमा आउने भएको छ।
गाउँबाट सहर आएको एउटा युवाको सहरिया बन्ने यात्रा चलचित्रमा समेटिएको छ। आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा पेश गर्ने चलचित्रलाई दिनेश पाल्पाली (दिन्श) ले निर्देशन गरेका हुन्। दिनेशले यसअघि ‘बालकृष्ण सम: अनटोल्ड स्टोरी’ निर्देशन गरेका थिए जुन काठमाडौं पर्वतीय फिल्म महोत्सव (किम्फ)सँगै थाइल्यान्ड, क्यालीफोर्निया, चीन आदि देशका चलचित्र महोत्सवमा छनोट भई विभिन्न अवार्ड जित्न सफल भएको थियो।
निर्देशक पाल्पालीले चलचित्रले मुख्य चार चरित्रमार्फत् मानिसको अन्तरयात्राको कथालाई पर्दामा प्रस्तुत गर्ने जमर्को गरेको बताउँछन्। ‘चलचित्रले गाउँबाट सहर आएर आधुनिक बन्न खोज्ने एक युवाको कथा भन्ने प्रयास गरेका छ,’ दिनेशले भने, –‘तर, आधुनिक बन्ने चक्करमा उसले आफूलाई नै गुमाउन पुग्छ। आधुनिक बन्न उसले गर्ने यात्रा र यात्राका क्रममा भेट्ने अरु यात्रुको कथा नै चिसो एस्ट्रे हो।’
चलचित्रमा दिव्य देवले मदनको रुपमा मुख्य यात्रुको भूमिका निर्वाह गरेका छन् भने सहयात्रीको भूमिकामा छन् निकुन श्रेष्ठ, नविन लम्साल, सुशील राज पाण्डे, रबिन तामाङ र सृष्टि श्रेष्ठ। दिव्य देव नेपाली र अंग्रेजी नाटकका उम्दा कलाकार हुन् भने नविनले राहदानी, कारखाना आदी चलचित्रमा काम गरिसकेका छन्। निकुन श्रेष्ठ, छड्के र झिग्रानामा रुचाइएका कलाकार हुन्।
कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित चलचित्रलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन्। निर्माणमा भने महेशबाबुलाई प्रबिन स्याङ्बोले सघाएका छन्। चलचित्रमा दिनेशले लेखनसँगै गीतकारको पनि भूमिका निर्वाह गरेका छन्।
चलचित्रमा संगीत अजर जंगमको रहेको छ। उज्जल बास्ताकोटीको छायांकन रहेको चलचित्रमा उज्जवल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन्।
नोबेल फ्रिक्सको पाश्र्व संगीत रहने चलचित्रमा कला संग्रौलाको आर्ट डिरेक्सन र फ्रान्सेली प्रडक्सन डिजाइनर सोनिया जोसेरयान्ड मेर्सियरको डिजाइन रहेको छ। चलचित्रलाई काठमाडौंमा रिच इन्टरटेनमेन्ट र जिजिए ग्रुपले वितरण गर्नेछ भने काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्नेछ।
चलचित्रले केही दिनअघि मात्र मुख्य कलाकारलाई परिचित गराउने उद्देश्यसहित फस्टलुक सार्वजनिक गरिसकेको छ।
Facebook Comment