साउदी अरबमा भ्रमण वर्षको उद्‌घाटन, सगरमाथा आरोही नेलीले भनिन्– ‘म पटक–पटक नेपाल जान चाहन्छु’

डिसी नेपाल
२४ पुष २०७६ १३:०१

रियाद  । नेपाल सरकारले तय गरेको भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने उद्देश्य पूर्ण रुपमा सफल पार्न साउदी अरबबाट पनि धेरै भन्दा धेरै पर्यटक नेपाल पठाउने लक्ष्यसहित नेपाली राजदूतावास साउदी अरबले जनवरी ०७ तारिख मंगलबारका दिन राजधानी रियादस्थित क्राउन प्लाजा होटेलको सभाहलमा भ्रमण वर्षको समुद्घाटन गरेको छ ।

नेपाली राजदूतावासका राजदूत महामहिम प्राध्यापक डा महेन्द्र प्रसाद सिंह राजपुतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सुरा काउन्सिलका मेम्बर डा. अब्दुल्ला अल सदुन थिए ।  त्यस्तै विशिष्ट अतिथिहरूमा साउदी च्याम्बर काउन्सिलका सदस्य डा अब्दुल्लाह अहमद् अल महदी, डाइरेक्टर जनरल मोफा डा. मोहम्मद अल समरी, ज्वाइन्ट सेक्रेटरी मिनिस्टर अफ इन्टेरियरका डा अब्दुल्लाह अल खरैसी र साउदी कमिसन टुरिजम एन नेसनल हेरिटेजका मेनेजर फाहद अल अब्दुल करिम तथा सगरमाथा चढ्न सफल साउदी अरबका महिला नेली अख्तर र साउद अल ईदीलगायत रहेका थिए ।

कार्यक्रममा अन्य देशका प्रतिनिधिहरू र साउदी अरेबियामा रहेका नेपाली संघ संस्थाका प्रतिनिधिहरूको समेत बाक्लो उपस्थित थियो ।

नेपाल र साउदी अरबको राष्ट्रिय धुनसँगै कार्यक्रमका सभापति ,प्रमुख अतिथि र विशिष्ट अतिथिहरूले भिजिट नेपाल २०२० लेखेको केक काटेर नेपाल भ्रमणको उद्‌घाटन गरेका थिए ।

कार्यक्रमका सभापति राजदूत राजपुतले शुभकामना मन्तव्य राख्दै साउदी अरब र नेपालको सम्बन्ध अत्यन्तै राम्रो रहेको प्रस्ट पार्दै नेपालको बारेमा व्याख्या गरेका थिए। साथै  विश्वको सबै भन्दा अग्लो शिखर सगरमाथा चढ्न सफल साउदी अरबका महिला नेली अख्तर र साउद अल ईदीको प्रशंसा गरेका थिए  ।

कार्यक्रममा विश्वको अग्लो सगरमाथा शिखर चढ्न सफल नेली अख्तर र साउद अल ईदीले सगरमाथा आरोहण गर्दाको विभिन्न भिडियो क्लिप्सहरुसमेत देखाएर नेपाल एउटा सुन्दर देश पर्यटकीय देश रहेका भन्दै प्रशंसा गरेकी थिइन् ।

उनले भनिन्— ‘मलाई नेपालको प्रकृति अत्यन्त प्यारो लाग्यो । नेपाल र नेपालीको विविधता झन् लोभ्याउने खालको । बोल्दै जांदा भावुक बन्दै गएकी उनले मनको मुख्य कुरा पोखिन्—म फेरि नेपाल जान चाहन्छु ।, एकपटक होइन, दुईपटक, तीनपटक र पटक पटक।

साउदी अरबका पत्रिका अल वातान दैनिकका बरिष्ठ पत्रकार मोहाब अलावरले नेपाल  गरिब देश भनेर सुनेको भएपनि नेपाल पुगेपछि त्यो कुरा यथार्था नभई भ्रम रहेको कुरा स्पस्ट बुझेको बताए  उनले अहिले सम्ममा ३६ वटा देश भ्रमण गरेको तर सबै भन्दा राम्रो र उचित दरमा विभिन्न रमणीय ठाउँहरु गुम्न सकिने देश नेपाल मात्र रहेको भन्दै नेपालको प्रशंसा गरेका थिए ।

मोहाब अलावरलाई राजदूतावास र नेपाल पर्यटन बोर्डबीचको समन्वयमा डिसेम्बर २३ देखि जनवरी १ सम्म ११ दिने परिचयात्मक भ्रमणमा नेपाल पठाईएको थियो्र  । काठमाण्डौमा नेपाल भ्रमण वर्षको उद्घाटन समारोहसमेत उनी सहभागी भएर साउदी अरब फर्केका थिए्र ।

कार्यक्रम नेपाली दूतावास रियादका नियोग उप प्रमुख दिलिप पौडेलले धन्यवाद मन्तव्य राखेसँगै समापन भएको थियो । कार्यक्रम नेपाली दूतावासका द्वितीय सचिव बिपिन दवाडीले  संचालन गरेका थिए।

कार्यक्रममा सहभागी नेपालीहरु बाहेक अन्य अथितिहरुलार्इ लक्की ड्र मार्फत हिमालयन एयरलाइन्स ,फ्लाईट दुबई, वातान एयरलाइन्स, ईतिहाद एयरलाइन्स, जजिरा एयरलाइन्सलगायतको प्रायोजनमा ७ जना भाग्यमानी लाई दुई तर्फी हवाई टिकट प्रदान गरिएको थियो ।

कार्यक्रमको स्थल वारी परि नेपालको विभिन्न स्थानहरुको तस्वीरहरु सजाएर राखिएको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *