आयल निगम भन्छः अमेरिका इरान तनावले नेपालमा इन्धन अभाव हुँदैन

डिसी नेपाल
२४ पुष २०७६ १३:५२

काठमाडौं। अमेरिका इरानबीच बढिरहेको तनाव र यसले विश्वमा पार्ने प्रभावका विषयमा धेरै विश्लेषण भइरहेका बेला नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति गर्ने आधिकारिक संस्थान नेपाल आयल निगमले भने नेपालमा इन्धनको अभाव नहुने बताएको छ।

निगमका आपूर्ति तथा वितरण निर्देशक वीरेन्द्र गोइतले नेपाल सानो बजार भएकोले यसले नेपाललाई प्रभाव नपार्ने बताएका हुन्। ‘नेपालको आपूर्ति भारतमा निर्भर छ र भारतको तेल आयातको परिमाण यति ठूलो छ कि त्यसमा केही कमी आउँदैमा नेपालमा त्यसको प्रभाव पर्दैन’ निगमका प्रवक्तासमेत रहेका गोइतले भने ‘नेपालमा आउने पेट्रोलियम भारतको एउटा ठूलो शहरमा खपत हुने इन्धन बराबरको मात्र हो ।’

नेपालले क्रुड (कच्चा तेल) आयात नगर्ने भएकोले पनि यसको सिधा असर नेपाललाई नपर्ने उनको भनाइ छ । मुल्यको हकमा भने यही नै हुन्छ भन्न सकिने अवस्था नरहेको उनको भनाइ छ ।

‘अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेमा नेपालमा पनि बढ्छ र घटेमा नेपालमा पनि घट्छ’ उनले भने ‘मूल्यमा घटबढ भएमा अन्तर्राष्ट्रिय बजारमै हुने हो नेपालमा मात्र घटबढ हुने भन्ने हुँदैन ।’ अन्तर्राष्ट्रिय बजारमा क्रुडको मूल्यको आधारमा तेलको मूल्य निर्धारण हुन्छ । हरेक पहिनाको सुरुवात र मध्यमा क्रुडको मूल्य निर्धारण हुने र सोही आधारमा पेट्रोलियमको मूल्य घटबढ हुने उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *