साधारणसभा नगर्ने सहकारी बन्द गर्ने मन्त्री अर्यालको चेतावनी

डिसी नेपाल
२४ पुष २०७६ १४:०३

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सहकारीको माध्यमबाट वैदेशिक रोजगारी विस्थापित गर्नुपर्ने बताएकी छन्।
राष्ट्रिय सहकारी महासंघको २७ औं वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले यस्तो बताएकी हुन्।

एक घर एक सहकारी सदस्य अनिवार्य अभियान चलाएर वैदेशिक रोजगारीलाई विस्थापित गर्नेगरी अगाडि बढ्नुपर्ने उनले बताइन्। मन्त्री अर्यालले एउटा सहकारी र एउटा रोजगारी पनि अनिवार्य गर्नुपर्ने बताइन्।

मन्त्री अर्यालले राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि एउटा बलियो खम्बा सहकारी भएको बताइन्। राज्यले सहकारीलाई अर्थतन्त्र निर्माणको खम्बा मानेको र व्यवहारले पनि त्यो पुष्टि भएको उनको भनाइ थियो। अब आउने नेतृत्वलाई सहकारीको माध्यमबाट कति योगदान पुर्याउने भन्ने चुनौती थपिएको उनले उल्लेख गरिन्।

समृद्धिको आधार क्षेत्र सहकारी भएकाले कार्यक्षेत्र परिवर्तन गर्नुपर्ने उनको धारणा छ। महिला उद्यमशिलता, किसानको व्यवसायिकता, युवा उद्यमशिलताका क्षेत्रमा केही न केही काम सुरु गरेर प्रयोगात्मक बन्न पनि मन्त्री अर्यालले सहकारीहरुलाई आग्रह गरिन्। हिजोको दिनमा विस्थापित घरेलु उद्योगहरुको पुनस्र्थापना गर्नुपर्ने उनको धारणा थियो।

मन्त्री अर्यालले सहकारीहरुको संख्या बढाउनुभन्दा आफ्नो कार्यक्षेत्र विस्तार गर्न आग्रह गरिन्। निष्कृय रहेको संस्था, लेखापरीक्षण प्रतिवेदन नबुझाउने र साधारणसभा नगर्ने सहकारीहरुलाई बन्द गर्ने चेतावनी मन्त्री अर्यालले दिएकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *