सभामुख चयनको प्रक्रिया अगाडि बढाउन राष्ट्रियसभामा माग

डिसी नेपाल
२४ पुष २०७६ १४:५९

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले सभामुख चयनको प्रक्रिया अबिलम्ब अघि बढाउन माग गरेका छन्।

राष्ट्रियसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले सभामुख चयनको प्रक्रिया अघि बढ्न नसक्दा राजनैतिक र संबैधानिक प्रश्न उठ्नुको साथै विधायीकाको मानहानी भएको तत्काल सभामुख चयन प्रक्रिया अघि बढाउन माग गरेका हुन्। उनले संबैधानिक व्यवस्था र समग्र लोकतान्त्रिक प्रणाली नै नेकपाका शिर्ष नेताको निरंकुशतावादमा पर्दै गएको आरोप लगाए।

‘यो मुलुकमा सभामुखको निर्वाचन या प्रदेशको नामाकरण संविधानको अक्षर र भावनाको आधारमा हुने वा नियमावलीको स्प्रीडमा हुने कि पार्टीको नाममा एउटा दुईटा शिर्ष नेताहरुको निरंकुशताको बन्दी हुने?,’ उनले भने, ‘यो निकै गम्भीर राजनैतिक र संवैधानिक प्रश्न तेर्सिएको छ।’

उनले संविधान, संंघीय संसद र प्रदेशसभा नियमावलिले देशमा प्रधानमन्त्रीको निर्वाचन, मन्त्रिपरिषद् गठन, प्रदेशसभाको राजधानी र प्रदेशको नामाकरण कसरी हुने भन्ने स्पष्ट रुपमा परिभाषित गरेको भन्दै संविधान र लोकतान्त्रिक प्रणालीलाई आत्मसाथ गर्न सरकारलाई सचेत गराए।

प्रदेश नक्म्बर ३ को सन्र्दभमा सत्ताधारी पार्टीका एकजना सभासद्ले ‘या त मेरा अगाडि बिष पिउने वा पार्टी छोड्ने अवस्था आईपरेको छ’भनेर वक्तव्य आएको उल्लेख गर्दै उनले संविधानले दिएको अधिकारलाई कुनै पार्टी र पार्टीका शिर्ष नेताले हनन गर्न नमिल्ने तर्क गरे।

‘प्रतिनिधिसभा र संघीय संसदको मानहानी भइरहेको छ, अदालतमा जानसक्छ मुद्धा। हाम्रो प्रतिष्ठा, गरिमा, राज्यका तीन अंग मध्यको यो विधायीका संसदको प्रतिष्ठा र अधिकारको डिभ्यालुयसन भइरहेको छ,’ उनले भने, ‘कम्युनिष्ट पार्टी भित्र केन्द्रीय समितिको नाममा पोलिटव्युरोले, पोलिटब्युरोको नाममा स्ट्याण्डिङ कमिटीले, स्ट्याण्डिङ कमिटीको नाममा सचिवालयले र सचिवालयको नाममा एउटा वा दुईवटा महासचिव या अध्यक्षले निर्णय गर्ने गर्दछन्।’

उनले विधि र प्रक्रिया अनुसार अघि बढ्न सरकार र सत्तारुढ पार्टी नेकपाको ध्यानाकर्षण गराए। उनले जनताको बहुदलीय जनवादको नारा अघि सारेको नेकपालाई सही अर्थमा लोकतन्त्रप्रति प्रतिवद्ध रहेको प्रमाणित गरेर देखाउन आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *