जिल्ला सभापतिहरुलाई देउवाले भने-महाधिवेशनको मिति परिवर्तन हुँदैन

डिसी नेपाल
२४ पुष २०७६ १५:४०

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभिन्न जिल्ला सभापतिहरुसँग छलफल गरेका छन्। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको निमन्त्रणमा काठमाडौं आएका जिल्ला सभापतिहरुसँग देउवाले भेटवार्ता गरेका हुन्। देउवाले जिल्ला सभापतिहरुलाई चियापानका लागि निम्ता गरेका थिए।

सभापति देउवासँगको भेटमा जिल्ला सभापतिहरुले आफ्नो असहमतिका कुरा राखेको जुम्ला जिल्ला सभापति दीपबहादुर शाहीले बताए। सदस्यता वितरणसम्बन्धि विधानको धारा निलम्बन गरेको र महाधिवेशनको कार्यतालिकाका विषयमा आफूहरुले असन्तुष्टि राखेको उनले बताए।

उनले भने, ‘पार्टीको सदस्यता भातृ संगठनहरुले बाँड्ने सक्ने भनिएको छ। नेपाल विद्यार्थी संघ र तरुण दलले आफ्नो सदस्यता बाँड्न नसकिरहेको अवस्थामा पार्टीको सदस्यता कसरी बाँड्छ?’

दिनप्रतिदिन जिल्ला सभापतिहरुको हक कटौती भइरहेको विषयमापनि आफूहरुले कुरा राखेको उनले बताए। जिल्ला सभापतिहरुसँगको भेटमा देउवाले महाधिवेशनको मिति परिवर्तन गर्न नसकिने तर अरु विषयमा छलफल गरेर सहमतिको प्रयास गर्ने आश्वासन दिएको उनले बताए।

‘मसँग हार्ने रामचन्द्र पौडेलले बोलाएर तपाईँहरु आउने? अनि त्यो बैठकमा आउँदै गर्दा मलाइ किन खवर गर्नुभएन? तपाईँहरुदेखि मेरो चित्त दुख्यो : देउवा

वरिष्ठ नेता पौडेलले बोलाएको भेलामा आउने अनि मलाइ नबोलाउने भनेर सभापति देउवाले चित्त दुखाएको उनले सुनाए। ‘मसँग हार्ने रामचन्द्र पौडेलले बोलाएर तपाईँहरु आउने? अनि त्यो बैठकमा आउँदै गर्दा मलाइ किन खवर गर्नुभएन? तपाईँहरुदेखि मेरो चित्त दुख्यो,’  सभापति देउवाको भनाइ उदृत गर्दै शाहीले भने, ‘भोलि तपाईँहरु विरुद्ध लड्ने व्यक्तिले हारेपछि यसरी भेला बोलायो भने तपाईँहरुको के हालत हुन्छ?’

ललितपुर जिल्ला सभापति मदन आमात्यले कांग्रेस एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको बताए। भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सभापतिले भागवण्डाका आधारमा नभएर स्वतन्त्र ढंगबाट निर्णय गर्नुपर्ने सुझाव दिए।

वरिष्ठ नेता पौडेलले बेलाएको भेलामा सहभागी भएका जिल्ला सभापतिहरु र नभएको जिल्लाका सभापतिहरु पनि देउवासँगको भेटघाट कार्यक्रममा सहभागी थिए। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले संवादबाट सहमित र सहमतिबाट महाधिवेशन भन्ने भावना जिल्ला सभापतिहरुको रहेको बताए। अहिलेको अवस्थामा पार्टी एकमत भएर अगाडि बढ्न जरुरी रहेको जिल्ला सभापतिहरुको निष्कर्ष रहेको उनले बताए।

नेपाली कांग्रेसको पुष ११ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले बहुमतको आधारमा २०७७ फागुन ७ देखि १० गते सम्म महाधिवेसन गर्ने, विभागहरुको संख्या ४७ पुर्याउने निर्णय गरेपछि वरिष्ठ नेता पौडेल समूहले असन्तुष्टि थियो। पौडेलले संस्थापन पक्षले एकलौटी निर्णय गरेको भन्दै जिल्ला सभापतिहरुको भेला बोलाएका थिए। भेला तीन दिनसम्म चलेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *