पाम तेलमाथि भारतले लगाएको रोक हटाउने पहल गर्न काँग्रेसको माग
काठमाडौं। भारतले पाम तेलको आयातमा लगाएको रोक हटउनका लागि कुटनीतिक पहल गर्न काँग्रेसले माग गरेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले शुक्रबार सरकारसँग यस्तो माग गरेको हो।
काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पाम तेल आयतमा भारतले प्रतिबन्ध लगाउँदा नेपाली व्यापारी मर्कामा परेको भन्दै सो रोक खुलाउनका लागि कुटनीतिक पहल गर्नुपर्ने बताएका छन्।
उनले पाम तेल निर्यात नेपाली अर्थतन्त्रको महत्वपूर्ण वस्तु रहेको भन्दै यसले नेपालको अर्थतन्त्रमै समस्या पार्ने र रोजगारी गुम्ने अवस्था सिर्जना हुने बताएका छन्।
पाम तेल नेपालमा उत्पादन हुने वस्तु नभए पनि विभिन्न मुलुकबाट कच्चा पाम मगाएर नेपालमा रिफाइन गरी भारत निर्यात गरिँदै आएको थियो। चालु आर्थिक वर्षको समिक्षा अवधिमा पाम तेलको निर्यातकै कारण नेपालको व्यापार घाटा कम हुँदै गएको देखिएको थियो। तर, भारतले कुनै पनि देशबाट पाम तेल आयत नगर्ने निर्णय लिएपछि त्यसको प्रत्येक्ष मारमा नेपाली व्यापारी पर्ने देखिएका हुन्।
प्रेस विज्ञप्ति
प्रशोधित पाम आयलको आयतमा भारतले रोक लगाएपछि नेपालमा प्रशोधित पाम आयल भारतमा निर्यात नहुने अवस्था सृजना भएकोले नेपालमा उत्पादित पाम आयल खेर जाने र उद्योगी व्यवसायीहरूको लगानी जोखिममा पर्नुका साथै उद्योगका श्रमिक तथा कर्मचारीहरूको रोजगारीमा समेत संकट उत्पन्न हुने अवस्था प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपालबाट निर्यात हुने प्रमुख वस्तु मध्ये पाम आयल पनि एक हो । जसले राष्ट्रको अर्थतन्त्रलाई समेत टेवा पुर्याइरहेको छ । यस सम्बन्धमा नेपाल सरकारले कुटनीतिक पहल गरी नेपालमा प्रशोधित पाम आयल अन्य मुलुकमा निर्यातका लागि सहज वातावरण गराउन ध्यानाकर्षण गराउँदछौं ।
जय नेपाल!
बालकृष्ण खाण
प्रमुख सचेतक
Facebook Comment