इरान दुर्घटनाः पाइलटकी श्रीमतीले अन्तिम पटक के भनेकी थिइन् ? जुन कुराले अझै पोल्छ
![इरान दुर्घटनाः पाइलटकी श्रीमतीले अन्तिम पटक के भनेकी थिइन् ? जुन कुराले अझै पोल्छ](https://www.dcnepal.com/wp-content/uploads/2020/01/skynews-kateryna-gaponenko_4888177.jpg)
काठमाडौं। इरानमा भएको विमान दुर्घटनामा पाइलट भोलोडिमिर समेत १७६ जनाको मृत्यु भएको थियो । यो विमान उडाइरहेका पाइलटकी श्रीमती क्याटलिना गोपोनेंकोले आफूले श्रीमानलाई विमान नउडाउन भनेको बताएकी छिन् । उनीहरुबीच भएको अन्तिम फोन कुराकानीमा उनले इरानमा सुरक्षा खतरा भएको बताउँदै विमान नउडाउन आग्रह गरेको भए पनि भोलोडिमिरले नमानेको बताएकी छिन् । स्काइन्यूजसँग कुरा गर्दै उनले भनिन् ‘मैले विमान नउडाउन भनेपछि उनले भनेका थिए कि हामी पछि हट्न सक्दैनौं । यदि यो काम मैले नगर्ने हो भने अरु कसैले पनि गर्ने छैन ।’
क्याटलिनालाई अझै पनि उनका श्रीमानले उनको कुरा सुनिदिएको भए उनी जीवित हुन्थे भन्ने कुराले पोलिरहन्छ । क्याटलिनाले अगाडि भनिन् ‘म अमेरिका र इरानको बीचमा चलिरहेको तनावका कारण चिन्तित थिएँ । त्यस दिन मलाई मेरा श्रीमानको पनि चिन्ता भइरहेको थियो । त्यतिबेला मेरो मन डराइरहेको थियो । मेरा श्रीमानलाई आशा थियो कि दुई देशको तनावको कारण किभबाट तेहरानको बीचको उडानहरु स्थगित गरिनेछन् । मैले उनलाई रोक्न भनेकी थिएँ तर पेशेवर र अनुभवी पाइलट भोलोडिमिर आफ्ना यात्रीहरुलाई निराश बनाउन चाहँदैनथे ।’ भोलोडिमिरले ७ जनवरीमा बोइङ ७३७ लाई किभबाट तेहरानको लागि उडाएका थिए ।
क्याटलिना र भोलोडिमोरका ६ र ११ वर्षका दुई छोरीहरु छन् । क्याटरिनाले भनिन् ‘छोरीहरुले बुझ्नै सकेका छैनन् कि यस्तो किन भयो । उनीहरुलाई अझै पनि आफ्ना पिता फर्केर आउने आशा छ । मलाई आफ्ना पतिमाथि गर्व छ ।’ क्याटलिनाले थपिन् ‘हामीलाई थाहा थियो कि अमेरिका र इरानबीच तनाव छ । यस्तो स्थितिमा एयरलाइनका अधिकारीहरुले विमान उडाउन अनुमति किन दिए ? यो ठूलो प्रश्न हो ।’
Facebook Comment