वाग्मती सफाइ महाअभियान ३४८औँ हप्तामा, पुसको चिसोमा पनि निरन्तर
काठमाडौं । पुसको चिसोमा पनि उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान प्रत्येक हप्ताको शनिबारजस्तै आज पनि निरन्तररूपमा जारी रहेको छ । वाग्मती सफाइ महाअभियानको ३ सय ४८औँ हप्तामा त्रिपुरेश्वरस्थित गुसिंगाल पुलमुनिको नदी किनारमा सफाइ गरियो । सफाइमा १८ संस्थाका २ सय ५० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले जानकारी दिए ।
सफाइबाट सात मेट्रिक टन फोहर व्यवस्थापन गरिएकोे छ । सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतको पनि सक्रियता थियो । गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको ३ सय १०औँ हप्तामा गोठाटार पुलमुनिको नदी किनारमा सफाइ गरियो । वाग्मती सुन्दरता सरोकार मञ्चको आयोजनामा मुहानदेखि नै नदी सफाइ भन्ने नाराका साथ यस क्षेत्रको सफाइ भइरहेको छ ।
कुहिने फोहरलाई खाडल खनेर गाडी नकुहिने फोहर नगरपालिकाले व्यवस्थापन गरेको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताए । सफाइमा करिब २ सय भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । रुद्रमती सफाइको ३ सयऔँ हप्तामा कालोपुलबाट ज्ञानेश्वर हुँदै मैतीदेवी मन्दिरसम्म सफाइ गरिएको छ । सफाइमा रुद्रमती सरोकार समाज, वातावरण संरक्षण अभियानलगायत संस्थाका गरी १ सय ५० भन्दा बढी अभियानकर्मीका सक्रियता रहेको रोहित गिरीले जानकारी दिए ।
जति सफाइ गरे पनि विष्णुमती फोहर फाल्न नछोडेको, सिसडोल लैजाने क्रममा केही फोहर विष्णुमतीमा फालेकाले सरोकार भएका सबै निकायका अधिकारीलाई बोलाएर छलफल गराउने अभियान स्थगित गरिएको छ । सफाइ संयोजक शोभाकान्त पाण्डेले दिएको जानकारीअनुसार विष्णुमतीको बहाव क्षेत्रका सबै स्थानीय तहलाई बोलाएर कार्यक्रम गर्ने तयारी भइरहेको सुनाए ।
चक्रपथ पश्चिम खण्ड सफाइको १ सय २८औँ हप्तामा पाटन क्षेत्रको सम्पदा पदयात्रामा सहभागी भएको संयोजक ताराबहादुर कुँवरले जानकारी दिए । चक्रपथको कलङ्कीबाट महाराजगञ्जको क्षेत्रमा विस्तार शुरु भएकाले पनि सम्पदा यात्रामा सफाइ अभियानकर्मी सहभागी भएको उनले सुनाए ।
मनोहरा सफाइको १ सय ४७औँ हप्तामा काठमाडौँ महानगरपालिका–३२ स्थित नरेफाँटको नीलो पुल क्षेत्रमा सफाइ गरियो । करिब १ सय अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट चार टन फोहर व्यवस्थापन गरिएको संयोजक चन्द्रप्रसाद दङ्गालले सुनाए।
विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि उपत्यकाका अरु नदी र चक्रपथ सफाइ अभियान शुरु भएको हो । वाग्मती सफाइ अभियानबाट प्रभावित भई हाल देशभर १ सय ६ भन्दा बढी स्थानमा सफाइ अभियान चलेको छ । अन्तको सफाइ अभियान एक दुई हप्ता रोकिने गरे पनि वाग्मती सफाइ अभियान भर्ने हिउँद, वर्षा, चाडपर्व जेसुकै परे पनि प्रत्येक हप्ताको शनिबार वाग्मती नदी किनारमा जारी छ ।
यसैगरी, आज उपत्यकाका वाग्मतीको तिलगङ्गा, चक्रपथको उत्तरी भाग र सुन्दरीघाट, ललितपुरको गोदावरी खोलालगायत स्थानमा सफाइ अभियान भएको जनाइएको छ ।
Facebook Comment