‘गोरखा स्मारक पार्क’ निर्माणमा सहयोगको आग्रह

डिसी नेपाल
२६ पुष २०७६ २१:१५

काठमाडौं । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) र गोरखा स्मारक ट्रष्टले स्याङ्जामा बन्न लागेको गोरखा स्मारक पार्कको निर्माणमा सहयोग गर्न सरकाससँग माग गरेको छ । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा संघका संस्थापक तथा ट्रष्टका सभापति पदमबहादुर गूरुङले स्मारक निर्माणमा सरकारले ५० करोड सहयोगको अपेक्षा गरिएको बताए । नेपालीहरुले बेलायतमा गरेको योगदान, नेपालीले भोग्नु परेको पिडा, गेसोको आन्दोलन र गोरखा स्मारक पार्कको विषयमा १५ पृष्ठ लामो अवधारणापत्र सार्वजनिक गर्दै गुरुङले स्मारण निर्माण भएपछि विश्वकै लागि एउटा नमूना पार्क बन्ने जिकिर गरे।

विसं २०७० बाट निर्माण शुरु भएको उक्त पार्क ६० हजारभन्दा बढी गोरखा सैनिकहरुप्रति समर्पित श्रद्धाञ्जलि सम्पदा र विश्वशान्तिको केन्द्र हो भने । अहिले स्याङ्जाको फेदीखोला गाउँपालिका–१ साल्मेडाँडामा उक्त पार्क निर्माण हुँदैछ । उक्त स्मारक पार्कको गुरुयोजनामा पार्कमा गोखा समाधि घर, सङ्ग्रहालय, सांस्कृतिक ग्राम, गोरखा टावर र गोरखा रेल बनाउने योजना छ ।

पाँच चरणमा निर्माण गर्न लागिएको उक्त पार्कमा अहिलेसम्म सरकारले पाँच करोड सहयोग गरेकोमा झण्डै आठ करोड बराबरको भौतिक संरचना निर्माण भइसकेको कार्यक्रममा जानकारी दिइएको थियो । उक्त स्मारकको डिजाइन भने इञ्जिनीयर शङ्करनाथ रिमालले गरे। यो स्मारक बेलायत रक्षाका निम्ति युद्ध लड्दा मारिएका नेपाली गोर्खाहरुको समाधिस्थल भएको उनले बताए। अवधारणापत्र प्रस्तुत गर्दै गुरुङले सन् २००९ मा गोरखालीलाई समान अधिकार दिन्छु भनेर पनि बेलायतले अहिलेसम्म लागू नगरेको बताउँदै उसले नेपालीलाई गैरकानुनी रुपमा प्रयोग गरिएको आरोप लगाए।

उक्त कार्यक्रममा नेकपा (माले)का महासचिव सिपी मैनालीले गोरखा स्मारक पार्कलाई सफल बनाउन सरकारले माग गरिएअनुसार ५० करोड रकम सहयोग गर्नुपर्नेमा जोड दिए । उनले पुर्खाको स्मृतिमा स्मारक बनाउने अभियान सराहनीय रहेको बताए । अवधारणा पत्रमा उल्लेख भए जस्तो गैरकानुनी रुपमा नेपालीलाई प्रयोग गरिएको आरोप सही हो भने त्यो युद्ध अपराध र सार्वभौमसत्तामाथिको कलङ्क भएको उल्लेख गर्दै महासचिव मैनालीले यस विषयमा गम्भीर छलफल चलाउनुपर्ने बताए।

कार्यक्रममा पूर्वराजदूत डा हिरण्डेलाल श्रेष्ठले उक्त सङ्ग्रहालय र समाधिस्थल निर्माणले अन्तरराष्ट्रिय पर्यटक आउने विश्वास व्यक्त गर्दै मुलुकलाई फाइदा पुग्ने बताए । पदम गुरुङले आफैँले भोगेको दर्दको कहानीको रुपमा यो अवधारणा पत्र प्रस्तुत भएको उल्लेख गर्दै समान अधिकारको कुरा उठाउनु जायज हो भने । उनले बेलायतमा गोर्खालीको दुरुपयोग भएको जिकिर गर्दै यसरी नेपालीलाई प्रयोग गर्नु असङ्लग्नताको नीति विपरीत रहेको दाबी गरे।

आर्किटेक इञ्जिनीयर शङ्करनाथ रिमालले नेपाली पुर्खाहरु कै समाधिको रुपमा पार्क रहेको उल्लेख गर्दै यसलाई स्वर्गको कल्पना गरेर डिजाइन गरिएको बताए । उनले पुर्खालाई आदर गर्ने गरी सम्मान गर्ने ठाउँको रुपमा यो स्मारक रहने उल्लेख गरे । राजनीतिक विश्लेषक डा सुरेन्द्र केसीले गेसो आन्दोलनलाई सार्थकता दिन नसक्नु दुःखद् भएको बताउँदै यसलाई निष्कर्षमा पु¥याउनुपर्नेमा जोड दिए । उनले विगत लामो समयदेखि उक्त आन्दोलनलाई आफूले पनि सहयोग गरिरहेको जानकारी दिँदै बन्न लागेको गोरखा स्माारक पार्कलाई सफल बनाउन आग्रह गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *