नेकपाको अकर्मण्यताको शिकार बन्दै संसद

डिसी नेपाल
२७ पुष २०७६ १९:०१

काठमाडौं। यही पुस ४ गतेबाट शुरु भएको संसदको हिउँदे अधिवेशनको एक महिना सकिनै लाग्दा एक दिनमा बैठक बस्यो। त्यो पनि दिवंगत पूर्व सांसदहरुको शोक प्रस्ताव पारित गर्न मात्र।
प्रतिनिधिसभाको पुस चार गते पहिलो दिन बैठक बसे पनि त्यसपछि भने लगातार सूचना टाँसेर स्थगित हुने गरेको छ।

आइतबारका लागि बोलाइएको बैठक पनि आगामी माघ ६ गतेसम्मका लागि सूचना टाँसेर स्थगित गरियो। प्रतिनिधिसभा विजनेश बिहीन भएकाले स्थगित भएको हो। प्रतिनिधिसभाको पहिलो विजनेश छ सभामुख चयन। आफ्नै नेता चयन गर्ने बैठक भने लगातार स्थगित भइरहेको छ।

यो बैठक स्थगित हुनुमा सत्तारुढ दल नेकपाको अकर्मण्यताले भूमिका खेलेको छ। भावी सभामुख आफ्नै दलबाट हुनुपर्ने मानसिकताका साथ नेकपा अगाडि बढिरहेको छ। संसदमा स्पष्ट बहुमत भएको दल भएकाले पनि नेकपाका सभामुख उम्मेदवार विजयी हुने निश्चित जस्तै छ। तर, नेकपा आफै गुटवाजीमा फस्दा उम्मेदवार टुंगो लगाउन सकेको छैन। सभामुखको उम्मेदवार टुंगो लगाउन नेकपा लगातार असफल भइरहँदा संसद भने स्थगित हुन पुगेको छ।

यसरी लगातार संसद स्थगित गरिएकोमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति प्रकट गरेको छ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार संसद स्थगित भएपछि एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका छन्। उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रतिनिधिसभाको बैठक फेरि पनि स्थगित भएको बिषय दुःखद छ। नेपाली काँग्रेसले यसलाई सरकार र सत्तारूढ नेकपाको संसदप्रतिको गैह्र जिम्मेवार ब्यवहारका रूपमा लिएको छ।’

काँग्रेसले महिनादेखि रिक्त भएको पदमा नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु र सत्तारूढ दलभित्रको विवादको छायाँमा प्रतिनिधिसभालाई लाचार छायाँ बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद भएको टिप्पणी गरेको छ।

उता सत्तारुढ दल नेकपा पनि लगातार संसद बैठक स्थगित हुनुले राम्रो सन्देश नदिएको बताउँछ। नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले यसरी बैठक स्थगित हुनु ठिक नभएको बताए। उनले डिसी नेपालसँग भने, ‘यसरी बैठक स्थगित हुनु राम्रो होइन। तर, संवैधानिक कुरा हो, त्यसैल बैठक स्थगित गर्नुपर्ने अवस्था आयो।’ उनलाई संविधानले कहाँनेर बैठक सूचारु गर्न रोक्यो भन्ने प्रश्नमा भने, ‘एउटै दलबाट सभामुख र उपसभामुख हुने कुरा संविधानले रोकेको छ। त्यसमा पनि यो विषयमा सर्वोच्चमा मुद्दा छ। यो मुद्दा किनारा पनि लागेको छैन। सभामुख पो रिक्त छ। उपसभामुख त रिक्त छैन। त्यसैले उपसभामुखले पनि राजीनामा दिएपछि सभामुख चयन प्रक्रिया अगाडि बढ्छ।’

तर, कुरा प्रमुख सचेतक गुरुङले भने जस्तो होइन। हालको अवस्थाले नेकपाबाहेक सबै दललाई सभामुखमा उम्मेदवारी दिन संविधानले रोकेको छैन। तर, उपसभामुख नेकपाकै भएकाले उसले भने हालको अवस्थामा सभामुखमा उम्मेदवारी दिन पाउँदैन। त्यसैले उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिए संसद सूचारु गर्न सहज हुने प्रमुख सचेतक गुरुङको भनाई छ।

सभामुखको उम्मदेवार चयन नभइ आफुले राजीनामा नदिने उपसभामुख तुम्बाहाम्फेको भनाईले नेकपामा सकस त भएको छ नै त्यसको मार सार्वभौम संसदलाई परेको छ।

काँग्रेसले महिनादेखि रिक्त भएको पदमा नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु र सत्तारूढ दलभित्रको विवादको छायाँमा प्रतिनिधिसभालाई लाचार छायाँ बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद भएको टिप्पणी गरेको छ। काँग्रेसले अगाडि भनेको छ, ‘स्वयं सत्तापक्षका कारण महिना दिनदेखि सदन अवरुद्ध रहेको स्थितिलाई गम्भीरतापुर्वक लिंदै नेपाली कांग्रेस दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई नबनाउन सरकारलाई चेतावनी दिंदै तत्काल निकासको मार्ग प्रशस्त गर्न सरकार र सत्तारूढ नेकपालाई सचेत गराउँदछ।’

संवैधानिक कानूनका ज्ञाता डा. विपिन अधिकारीले पनि यसरी कुनै एक दलको कारण संसद बैठक स्थगित हुनु राम्रो सन्देश नभएको बताउँछन्। उनले डिसी नेपालसँग भने, ‘प्रतिनिधिसभा भनेको जनप्रतिनिधिहरुको संस्था हो। त्यहाँ जनताका आवाजहरु राखिन्छन्। यसरी बैठक स्थगित हुनुले संसदको सार्वभौमिकता मै समस्या पार्छ।’

संवैधानिक कानूनका ज्ञाता डा. विपिन अधिकारीले पनि यसरी कुनै एक दलको कारण संसद बैठक स्थगित हुनु राम्रो सन्देश नभएको बताउँछन्। उनले डिसी नेपालसँग भने, ‘प्रतिनिधिसभा भनेको जनप्रतिनिधिहरुको संस्था हो। त्यहाँ जनताका आवाजहरु राखिन्छन्। यसरी बैठक स्थगित हुनुले संसदको सार्वभौमिकता मै समस्या पार्छ।’

तर, नेकपा प्रमुख सचेतक गुरुङ भने नेकपाले संसद बैठक स्थगित नगराएको भन्दै यो दलहरुको हातभन्दा बाहिरको कुरा भएको बताए। उनले डिसी नेपालसँग भने, ‘यो दलहरुले गरेको कुरा होइन। उपसभामुखले राजीनामा दिएपछि सभामुख चयनको प्रक्रिया शुरु हुन्छ। संसद पनि शुरु हुन्छ। नेकपा सबैभन्दा ठूलो दल भएकाले स्वभाविक रुपमा सभामुख अरुलाई त दिँदैन। तर, नेकपाले उम्मेदवार टुंगो नलगाउँदा बैठक स्थगित भयो भन्ने चाही होइन। उपसभामुखले राजीनामा दिएपछि नेकपामा उम्मेदवारको विषयमा कुरा भइहाल्छ।’

तर, काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले भने नेकपाले जनताको आजाव थुन्ने दुष्प्रयास गरेको टिप्पणी गरे। उनले डिसी नेपालसँग भने, ‘संसद चलेको भए हामीले जनताका समस्याका विषयमा सरकारको ध्यानाकर्षण गराउँथ्यौं। सरकारले पनि काम गथ्र्यो र जनता पनि आशा बढ्थ्यो। तर, यहाँ त जनताको आवाज नै थुन्ने प्रयास भएको छ। म यो विषयमा आपत्ति प्रकट गर्छु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *