देउवा निवासमा शीर्ष तीन नेताबीच छलफल, विवाद समधान गर्ने सहमति

डिसी नेपाल
२७ पुष २०७६ २१:३१

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस भित्र उत्कर्षमा पुगेको विवाद समधान गर्न शीर्ष नेताहरु तयार भएका छन्।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आइतबार साँझ देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाबीच पार्टीको विवाद समधानबारे छलफल भएको छ।

छलफलमा सँगै रहेका एक नेताका अनुसार तीनै जना नेताहरु पार्टी भित्र देखिएको विवाद समधान गर्न तयार रहेको देखिएका छन्।

पौडेल–सिटौला समूहको बहिस्कारका बीच बसेको काँग्रेस केन्द्रीय कार्य समितिको बैठकले पार्टीको आगामी महाधिवेशनको मिति तोकेपछि दुई पक्षबीच वार्तासमेत भएको थिएन।

पुस ११ मा केन्द्रीय समितिले महाधिवेशनको मिति तोकेपछि रोकिएको वार्ता आइतबार शुरु भएको हो। तर, के के कुरामा सहमति भयो भन्ने विषयमा भने केही खुलाइएको छैन। सोमबार वरिष्ठ नेता भारततर्फ जान लागेका छन्। उनी स्वदेश फर्किएपछि विवाद समाधानका लागि फेरि वार्ता गरिने भएको छ।

यसका लागि सभापति देउवाले नै अग्रसरता लिएको बताइएको छ। यहीबीचमा पौडेल–सिटौलाले राजधानी काठमाडौंमा आफू निकट जिल्ला सभापतिहरुको भेला गरेका थिए। भेलामा ५२ जिल्ला सभापतिहरु सहभागी भएपछि सभापति देउवा दबाबमा परेका थिए।

त्यसपछि देउवाले जिल्ला सभापतिहरुलाई आफ्नै निवासमा बोलाएर छलफल गरेका थिए। छलफलमा जिल्ला सभापतिहरुले पार्टीको विधानभन्दा ठूलो कोही नभएको भन्दै विधानअनुसार पार्टी चल्नुपर्ने र पार्टी एक ढिक्का बन्नुपर्ने सुझाव दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *