अन्तर्राष्ट्रिय टि-२० मा ब्राभोको पुनरागमन

काठमाडौँ । वेस्टइन्डिजका पुर्व कप्तान डवाने ब्राभो अन्तर्राष्ट्रिय टी-२० मा फर्किएका छन् । ब्राभोले आधिकारिक रुपमा आफु अन्तर्राष्ट्रिय टी-२० मा फर्किने निर्णय गरेको बताएसँगै वेस्टइन्डिज क्रिकेट बोर्डले आयरल्याण्डविरुद्धको टी-२० टिममा ब्राभोलाई समावेश गरेको छ ।
ब्राभोले केहि साता घि मात्र टी-२० अन्तर्राष्ट्रिय खेलमा फर्किने निर्णय गरेका थिए । २०१८ मा सन्यासको घोषणा गरेका ब्राभोले यसै बर्ष हुने टी-२० विश्वकपलाई ध्यानमा राख्दै टी-२० अन्तर्राष्ट्रिय खेलमा फर्किएको बताइएको छ ।
वेस्टइन्डिजका लागि ६६ अन्तर्राष्ट्रिय टी-२० खेलेका ३६ बर्षिय ब्राभोले २४.२९ को औसतले ११४२ रन बनाएका छन् भने ५२ विकेट समेत लिएका छन् । एक समयका उत्कृष्ट अलराउन्डर रहेका ब्राभो आक्रामक क्रिकेट खेल्ने खेलाडीका रुपमा परिचित छन् ।
सन्यासपछि ब्राभो टी-२० फ़्रेन्चाइजी लिगहरुमा व्यस्त रहेका थिए । ब्राभो नेपालमा आगामी चैत्रमा हुने इपिएलमा समेत आउने चर्चा रहेको छ । एकदिवसीय सिरिज ३-० ले जितेको वेस्टइन्डिजले आयरल्याण्डविरुद्ध तीन टी-२० खेल्दै छ । जसको पहिलो खेल १५ जनवरीमा हुदै छ ।
Facebook Comment