कृषि बजार सञ्चालन गर्न चन्द्रागिरिले सहयोग गर्ने

डिसी नेपाल
२८ पुष २०७६ २१:१५

काठमाडौं । कृषि क्षेत्रको विकास गर्ने मुख्य उद्देश्यले स्थापित युवा कृषक बहुद्देश्यीय सहकारी संस्थाले आर्थिक वर्ष २०७५/०७६ मा ५१ लाख पाँच हजार ४०७ कृषि कर्जा प्रवाह गरेको छ ।

सो सहकारीले आव २०७४/०७५ मा रु १८ लाख ८२ हजार ७७५ कृषि कर्जा प्रवाह गरेको थियो । संस्थाले आव २०७५/०७६ मा रु ११ करोड ५० लाख ८५ हजार ६३३ कर्जा प्रवाह र १३ करोड पाँच लाख चार हजार ७५९ निक्षेप सङ्कलन गरेको १४औँ वार्षिक साधारणसभामा सहकारीका अध्यक्ष राजेन्द्र महर्जनले जानकारी दिए।

सो सहकारीले आव २०७४/०७५ मा सात करोड १२ लाख ९४ हजार १०३ कर्जा र नौ करोड ६२ लाख आठ हजार निक्षेप सङ्कलन गरेको थियो । चन्द्रागिरि नगरपालिकालाई मुख्य कार्यक्षेत्र बनाएर सञ्चालनमा आएको सो सहकारीले आर्थिक वर्ष २०७५/०७६ मा रु १७ लाख ४५ हजार २७३ खुद नाफा आर्जन गरेको छ । आव २०७४/०७५ मा उक्त सहकारीले तीन लाख ७५ हजार ३८० नाफा आर्जन गरेको थियो ।

साधारणसभाको उद्घाटन गर्दैै नगर प्रमुख घनश्याम गिरीले सहकारीले रकम सङ्कलन गर्ने मात्र नभई उत्पादनमा ध्यान दिनुपर्ने बताए । उनले शेयर सदस्यलाई विभिन्न तालिम दिएर उत्पादनसँग जोड्न आग्रह गरे । कृषि उत्पादनलाई बजारीकरणको समस्या हुन नदिने भन्दै उनले नगर क्षेत्रभित्र सुपथ मूल्यको कृषि बजार सञ्चालन गर्न सहयोग गर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *