वर्षौं पुरानो हो अमेरिका–इरानको दुश्मनी, यस्तो छ १९५० देखि अहिलेसम्मको इतिहास

डिसी नेपाल
२९ पुष २०७६ ९:४४

काठमाडौं। पछिल्लो समय इरान–अमेरिकाको तनाव चर्चामा छ । तर, यो तनाव आजको होइन । यसको वर्षौं पुरानो इतिहास छ । यो इतिहास त्यहीँबाट सुरु हुन्छ जहाँ मानिसहरु जनरल कासिम सुलेमानीको मृत्युपछि सडकमा उत्रिएका छन् । सन् १९७९ मा इरानमा इस्लामिक क्रान्ति भएको थियो । त्यसपछि यहाँ पहिलो शिकार राजधानी तेहरानस्थित अमेरिकी दूतावास नै बनेको थियो ।

त्यतिबेला हजारौंको संख्यामा छात्रहरुले अमेरिकी दूतावासमाथि कब्जा गरेका थिए । दूतावासभित्र छिरेर उनीहरुले त्यहाँ काम गरिरहेका अमेरिकी अधिकारी र कर्मचारीहरुलाई बन्धक बनाएका थिए । उनीहरुको एउटै माग थियो अमेरिकाले तत्काल शाह मोहम्मद रजा पहेलवीलाई इरान फिर्ता पठाओस् ताकि इरानले उनलाई उनको गल्तीको सजाय दिन सकोस् । तर, प्रश्न यो हो कि को थिए मोहम्मद रजा पहेलवी र अमेरिकाले उनलाई किन बचाइरहेको थियो ? यसको लागि करिब ७० वर्ष पहिले जानुपर्छ ।

पुरानो समयमा यहाँ पर्सियन साम्राज्य थियो र त्यतिबेला यसलाई इरान भनिन्थ्यो । २५ सय वर्षसम्म यो देशमा कैयौं राजाहरुले शासन गरे । उनीहरुलाई शाहको नामले चिनिन्थ्यो । १९५० मा इरानी जनताले मोहम्मद मुसादिकको रुपमा एक धर्मनिरपेक्ष नेतालाई प्रधानमन्त्री निर्वाचित गरे । सत्तामा आउनासाथ मुसादिकले इरानको तेलको फाइदा सिधै आफ्ना नागरिकहरुलाई हुने गरी बेलायती र अमेरिकी पेट्रोल होल्डिङलाई राष्ट्रियकरण गरिदिए ।

यो त्यो समय थियो जतिबेला विश्व दोस्रो विश्वयुद्धबाट बाहिर आइसकेको थियो । यतिबेला अमेरिकालाई विश्वास भइसकेको थियो ऊभित्र सुपर पावर बन्ने पूरै क्षमता छ र मौका पनि । यही कारण १९५३ मा उसले बेलायतसँग मिलेर एक षड्यन्त्रअन्तर्गत मुसादिकको सत्ता पल्टाइदियो र एक लोकतान्त्रिक देशलाई राजशाहीमा परिणत गरेर मोहम्मद रजा पहेलवीलाई इरानको नयाँ राजा बनाइदियो ।

२२ वर्षका शाह त्यतिबेला आफ्ना मोजमस्ती र फजुल खर्चको लागि चर्चित थिए । भनिन्छ उनकी पत्नी पानीले नभइ दूधले नुहाउँथिन् । शाहको लञ्च दिनहुँ पेरिसबाट मगाइन्थ्यो । आफ्नो देशका नागरिक भोकले मरिरहेका छन् भन्ने कुराको ख्यालै नगरी रजा पहेलवीले आफ्नो सत्ता जोगाउनेतर्फ ध्यान दिन थाले । पहेलवी वंशका अन्तिम शाहले सत्ता पहेलवी वंशसँगै रहोस् भनेर आफ्नो एक निर्दयी पुलिस दल बनाए जसको एकमात्र काम थियो राजवंशको विरुद्ध उठ्ने आवाजलाई तत्काल दबाउनु ।

त्यहीबेला अर्कोतर्फ संसारमा ग्लोबलाइजेशनको समयमा बजारतन्त्र हावी हुन थालेको थियो । तर यसको लागि इरान पश्चिमी रंगमा रंगिनु जरुरी थियो । शाहले आफ्नो अर्को कदम यही उठाए । उनले इरानको बजार विश्वको लागि खोलिदिए । जसको नतिजास्वरुप इरान फेशनको हब बन्यो । भनिन्छ, त्यतिबेला फेशन पेरिसमा भन्दा पहिले तेहरानमा आउन लागेको थियो । मोजमस्तीको कुनै पनि यस्तो सामान थिएन जो इरानको राजधानीमा उपलब्ध नहोस् ।

९० प्रतिशत शिया मुस्लिम र ९ प्रतिशत सुन्नी मुस्लिमलाई शाह पहेलवीको यो खुला रुप पटक्कै मन परेको थिएन । उनीहरुका अनुसार अमेरिकाको दबाबमा शाह पहेलवीले न केवल देशलाई अमेरिकाको अगाडि बन्धक बनाएका थिए, इरानको सभ्यतालाई पनि ध्वस्त पारेका थिए । करिब १० वर्षसम्म इरानलाई पश्चिमी रंगमा बदलिँदै गएको देखेपछि मानिहरु पहेलवीको विरुद्ध सडकमा उत्रिए । यी नागरिकको नेतृत्व इस्लामिक नेता अयातुल्लाह रुहुल्लाह खमेनीले गरिरहेका थिए ।

शाहका सुरक्षा एजेन्सीले तत्कालै अयातुल्लाह खमेनीलाई गिरफ्तार गरे । उनलाई १८ महिनासम्म जेलमा यातना दिइयो । १९६४ मा जेलबाट मुक्त गर्नको लागि उनको अगाडि २ शर्त राखियो – उनले शाहसँग माफी मागुन् वा देश छाडुन् । अयातुल्लाह खमेनीले दोस्रो विकल्प रोजेर देश छाडे । त्यसपछि उनी १४ वर्षसम्म इरानबाहिर रहे । पहिले इराक, त्यसपछि टर्की र त्यसपछि फ्रान्समा बसे । यी वर्षमा खमेनीले त्यहीँबाट मोहम्मद रजा पहेलवीलाई सत्ताबाट हटाउने योजना बनाइरहे ।

सन् १९७१ मा इरानको शहर पर्सेपोलिसमा शाहले आफ्ना मित्रराष्ट्रको लागि एउटा शानदार पार्टी राखे । यसमा युगोस्लाभिया, मोनाको, अमेरिका र सोभियत संघबाट आएका राजकीय मित्रहरु सहभागी थिए । यो पार्टीमा इरानमा उठिरहेका विरोधका स्वरलाई कुल्चिने रणनीतिमा चर्चा गरियो । शाहको यो पार्टीलाई निर्वासनमा रहेका अयातुल्लाह खमेनीले ‘शैतानको भोज’ भनेका थिए । यो त्यो समय थियो जतिबेला इरानी नागरिकमा शाहप्रति आक्रोश र अयातुल्लाह खमेनीमा आशा देखिँदै थियो । फ्रान्समा बस्ने क्रममा खमेनीका सन्देशलाई इरानमा पम्प्लेट र अडियो भिडियो सन्देशको माध्यमबाट नागरिकहरुसम्म पुर्याइन्थ्यो ।

जुन काम अयातुल्लाह खमेनीले देशमा बसेर गर्न सकेनन् त्यो काम उनले देशबाहिर बसेर गरे । इरानमा हरेकतर्फ एउटै आवाज थियो, अयातुल्लाह खमेनी जिन्दाबाद, शाह पहेलवी मुर्दाबाद । तर, यस्तो पनि थिएन कि इरानमा जे भइरहेको थियो त्यसप्रति विश्वले आँखा चिम्लिएको थियो, खासगरी अमेरिकाले । शाह पहेलवी इरानको सत्तामा स्थापित रहनु अमेरिकाका लागि उत्तिकै जरुरी थियो जति जरुरी उसलाई सुपरपावर बनिरहनु थियो । किनकि अमेरिकाले सुपरपावर बनिरहनको लागि वास्तविक शक्ति इरान र फारसको खाडीबाट पाइरहेको थियो ।

भौतिक रुपमा इरानको महत्व यसकारण पनि धेरै छ किनकि व्यापारको दृष्टिले र प्राकृतिक संसाधनको दृष्टिले संसारमा इरान निकै उत्कृष्ट देश हो । तेल र ग्यासको खोजीले त यो देशलाई सुनको खानी बनाइदिएको थियो । त्यसैले एक्लो अमेरिका मात्र होइन त्यसअघि बेलायत र सोभियत युनियनले पनि यहाँ आफ्नो प्रभावको लागि निकै प्रयास गरिरहेका थिए ।

यो इलाकामा फारस र ओमानको खाडीलाई जोड्ने समुद्रको चौडाइ मात्रै ५५ किलोमिटर छ । त्यसैले यो इलाकामा इरानसँग निहुँ खोज्नुको अर्थ तेलमा निर्भर देशहरुको लागि आत्महत्या बराबर हो । किनकि विश्वको २० प्रतिशत तेल यही बाटोबाट बाहिरिन्छ । जबसम्म शाह पहेलवी देशको सत्तामा रहे तबसम्म इरान न केवल अमेरिकाको लागि बजार थियो, यहाँको धेरैजसो तेल र ग्यास संसाधनमा पनि अमेरिकाकै कब्जा रह्यो । यस क्रममा अमेरिकाले इरानको मजाले प्रयोग गर्यो । आफ्नो यही मित्रताको बलमा कैयौं ठूला कूटनैतिक फैसला गर्यो । यसले उसलाई सुपरपावर भन्दा पनि शक्तिशाली बनायो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *