श्री एयरलाइन्सको लापरवाहीः २ दिनदेखि यात्रु विमानस्थलमा अलपत्र, उड्ने बेला विमान छैन

डिसी नेपाल
२९ पुष २०७६ १३:०१

काठमाडौं। श्री एयरलाइन्सको चरम लापरवाहीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र परेका छन् । विराटनगर जानको लागि टिकट काटेका यात्रु हिजो दिउँसो २ बजेदेखि विमानस्थलमा पर्खिरहेक छन् तर विमान उडेकै छैन। विमानस्थलमा विराटनगर जानुपर्ने करिब १५० यात्रु अलपत्र छन्।

विराटनगर जानका लागि विमानस्थलमा आएका ऋषिका भट्टराईका अनुसार उनको हिजो दिउँसो ३ बजेर १० मिनेटमा उडान थियो । मौसम खराब भएको बताउँदै बेलुका ८ बजेसम्म उडान भएन । बेलुका ८ बजे अब उडान हुने भनेर यात्रुलाई विमानमा चढाइयो तर केहीबेरमै पुनः मौसम खराब भएको भनेर सबै यात्रुलाई झारियो । त्यसपछि सबै यात्रुलाई आज बिहान ७ बजे उडान हुने भनेर हिजो फर्काइएको थियो ।

आज बिहान पनि मौसम खराब भएको भन्दै यात्रुहरुलाई रोकियो। आज बिहान ८ बजे श्रीको अर्को उडान हुनुपर्ने थियो । त्यो नियमित उडान पनि हुन नसकेपछि विमानस्थलमा भएको एउटा जहाजलाई भरतपुरको लागि उडाइयो । विराटनगर जान आएका अर्का यात्रु लोकनाथ आचार्यका अनुसार मध्यान्ह विराटनगरको मौसम पनि सफा भएको जानकारी आएको छ । तर, उड्नको लागि विमान छैन।

एयरलाइन्सले नेपालगञ्ज गएको विमान आएपछि विराटनगर पठाउने आश्वासन दिएको छ।  अर्का यात्रु कृष्ण सोनीका अनुसार यात्रु भोकभोकै छन् । उनलाई पनि विहान साढे नौ बजेको उडानको लागि साढे ८ बजे नै बोलाइएकोमा अहिलेसम्म उडान भएको छैन।

श्रीका जहाजहरु एउटा नेपालगञ्ज, एउटा धनगढी र एउटा भरतपुर पुगेका छन्। काठमाडौंमा एउटा पनि विमान छैन। श्री एयरलाइन्सका विहानका ड्युटी अफिसर प्रकाश बस्नेटले भने मौसम सफा भएका ठाउँमा विमान पठाइएको र अन्यत्र नपठाइएको बताए। उनका अनुसार एयरलाइन्सका ६ विमानमध्ये ४ वटा संचालनमा छन्।

तस्वीर साैजन्य : ऋषिका भट्टराई




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *