डेल्टा एयरको जहाजले आकाशबाट ६ स्कुलमाथि इन्धन पोख्यो, बालबालिकासहित ६० घाइते
![डेल्टा एयरको जहाजले आकाशबाट ६ स्कुलमाथि इन्धन पोख्यो, बालबालिकासहित ६० घाइते](https://www.dcnepal.com/wp-content/uploads/2020/01/13240602_web1_Aircraft-Fuel-Dump-3-.jpg)
काठमाडौं। अमेरिकामा आकाशमा उडिरहेको एक जेट जहाजले आकाशबाटै इन्धन फाल्दा त्यो इन्धन ५ प्राथमिक विद्यालय र एक हाइस्कुलमाथि खसेको छ । यसबाट बालबालिकासहित ६० जना घाइते भएका छन् । अमेरिकाको लस एन्जल्सबाट चीनको शांघाइ जाँदै गरेको डेल्टा एयरको जहाजले इन्धन डम्प गरेको हो । सिएनएनको समाचार अनुसार यो विमान उड्ने बित्तिकै इन्जिनमा केही खराबी देखिएपछि लस एन्जल्स विमानस्थलमै आकस्मिक अवतरण गर्ने क्रममा इन्धन डम्प गरेको थियो ।
विमानहरुले अवतरण गर्ने बेला विमानको तौल निर्धारितभन्दा बढी भएमा यसरी इन्धन फालेर तौल कम गर्ने गर्छन् । विमान टेक अफ गर्ने बेलाको निर्धारित तौल भन्दा ल्याण्ड गर्ने बेलाको तौल कम हुनुपर्छ । तौल निश्चितभन्दा बढी भएमा ल्याण्ड गर्ने क्रममा ल्याण्डिङ गियरसहित विमानमा क्षति हुन सक्ने र दुर्घटना हुन सक्ने खतरा हुन्छ । यो विमान अमेरिकाबाट धेरै टाढा चीनको शांघाइ जान लागेकोले यसले विमानमा धेरै नै इन्धन राखेको थियो । चीन पुग्दासम्म पुग्ने गरी इन्धन राखिएकोले यसको तौल ल्याण्ड गर्न निर्धारित तौलभन्दा बढी थियो । विमान चीन पुग्न पाएको भए धेरै इन्धन सकिन्थ्यो र ल्याण्ड गर्न निर्धारित तौल हुन्थ्यो । तर, लस एन्जल्समै ल्याण्ड गर्नु परेपछि यसको इन्धन सकिनै पाएको थिएन र विमानले इन्धन डम्प गरेर तौल घटाएको थियो ।
लस एन्जल्स काउन्टी दमकल विभागका निरीक्षक सीन फग्र्युसनका अनुसार जेट फ्युलका कारण कुडाहीको पार्क एभेन्यू एलिमेन्टरी स्कुल सबैभन्दा प्रभावित भएको छ । यहाँ २० बालबालिका र ११ जना अन्य घाइते भएका छन् । स्कुल विमानस्थलबाट करिब ३१ किलोमिटर टाढा छ । यसका अलासा सान ग्याब्रियल एलिमेन्ट्री, ग्राहम एलिमेन्ट्री, ट्वीड एलिमेन्ट्री, ९३ वे स्ट्रिट एलिमेन्ट्री र जोर्डन हाइस्कुलमा पनि जेट फ्युल खसेको थियो । इन्धन डम्प गर्ने विमान बोइङ ७७७–२०० थियो । विमान भने सकुशल अवतरण भएको छ ।
संघीय उड्डयन प्रशासनले घटनाको अनुसन्धान सुरु गरेको छ किनकि नियमअनुसार कुनै पनि विमानले आकस्मिक अवस्थामा पनि बस्ती भएको क्षेत्रमा इन्धन डम्प गर्न पाउँदैनन् । इन्धन डम्प गर्ने विषयमा अमेरिकामा निकै कडा मानुन छ । विमानका पाइलटले आकस्मिक क्षेत्रमा बस्ती नभएको क्षेत्रमा इन्धन डम्प गर्नुपर्छ । नियमअनुसार इन्धन डम्प गर्ने विमान कम्तीमा १० हजार फिट उचाइमा हुनुपर्छ र विमान पानीमाथि उडिरहेको हुनुपर्छ । डेल्टा एयरका पाइलटसँग यी दुवै विकल्प थिएनन् किनकि विमान भर्खरै उडेकोले धेरै उचाइमा थिएन र समुद्री क्षेत्रमा पुग्नै पाएको थिएन । यो विमानको उचाइ ५ हजार फिटभन्दा पनि कम थियो किनकि ५ हजार फिट उचाइम्मबाट डम्प गरिएको इन्धन तल आउँदै गर्दा हावामै वाफ बनेर उड्छ ।
Facebook Comment