अमेरिकी तल्लो सदनले माथिल्लो सदनलाई पठायो राष्ट्रपति ट्रम्प विरुद्धका आरोपपत्र

डिसी नेपाल
२ माघ २०७६ ७:४७

बीबीसी। संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले राष्ट्रपति डोनल्ड ट्रम्प विरुद्धको महाभियोगसम्बन्धी आरोपपत्रहरू माथिल्लो सदन सिनेटमा पठाउने एउटा प्रस्ताव पारित गरेको छ।

राष्ट्रपतिविरुद्ध महाभियोगसम्बन्धी अबको प्रक्रिया सिनेटले शुरू गर्नेछ। राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोगसम्बन्धी आरोपपत्रहरू सिनेटमा पठाउने प्रस्तावको पक्षमा २२८ मत खसेको थियो भने विपक्षमा १९३ मत खसेको थियो।

हाउस अफ रेप्रेजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीले आरोपपत्रहरूमा हस्ताक्षर गरेकी थिइन्। विपक्षी डेमोक्र्याटहरूको नियन्त्रण रहेको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले गत महिना राष्ट्रपति ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव पारित गरेको थियो।

ट्रम्पको सत्तारूढ रिपब्लिकन पार्टीको नियन्त्रण रहेको सिनेटले अब उनीविरुद्धको महाभियोग पारित गर्ने वा नगर्ने र राष्ट्रपतिलाई पदबाट हटाउने वा नहटाउनेबारे निर्णय गर्नेछ।

आरोपपत्रहरूमा हस्ताक्षर गर्नुअघि आयोजित एउटा पत्रकार सम्मेलनमा सभामुख पेलोसीले आफूहरूले इतिहास रचेको बताइन्। उनले भनिन्, “यी कागजातले यो कुरालाई प्रस्ट पारेका छन् कि राष्ट्रपति ट्रम्पलाई उनले गरेका कामका लागि जवाफदेही बनाइनेछ र भविष्यमा अब कुनै पनि राष्ट्रपतिले जे पायो त्यही गर्न सोच्ने छैनन्।”

सभामुखले हस्ताक्षर गरेपछि आरोपपत्रहरूलाई सिनेट पठाइएको थियो। रिपब्लिकन सिनेटर मिच मक्कनेलले सिनेटमा पढेर सुनाइएपछि आरोपपत्रहरूलाई बिहीवार अपराह्न सार्वजनिक गरिने बताएका छन्।

उनका अनुसार मङ्गलवार महाभियोगसम्बन्धी सुनुवाइ शुरू गरिनेछ। सत्ताको दुरुपयोग गरेको र कङ्ग्रेसको प्रक्रियामा अवरोध पुर्‍याएको राष्ट्रपति ट्रम्पमाथि आरोप लगाइएको छ।

तर ती आरोपहरूलाई उनले शुरूदेखि नै अस्वीकार गर्दै आएका छन्। रिपब्लिकनहरूले महाभियोगलाई ‘पक्षपातपूर्ण आक्रोशबाट बढाइएको कदम’ भन्दै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *