भरतले योजनाबद्ध तरिकाले श्रीमतीको हत्या त गरे, लाश ठेगान लगाउने चक्करमा आफैं मरे
काठमाडौं। योजनाबद्ध तरिकाले श्रीमतीको हत्या गरेका एक व्यक्तिले हत्यापछि पुलिस अनुसन्धानबाट बच्न श्रीमतीको लाश ठेगान लगाउने प्रयास गरिरहेका थिए । यस क्रममा उनी आफैं मृत्युको मुखमा पुगेका छन् । आज तकको समाचार अनुसार घटना भारतको उत्तर प्रदेशको हो । यहाँको चित्रकुट जिल्लाका ती व्यक्ति श्रीमतीको लाश ठेगान लगाउने चक्करमा आफैं मरेका हुन् ।
जिल्लाको कर्वी ब्लकका पूर्व ब्लक प्रमुखका नाती भरत दिवाकरले हिजो बेलुका आफ्नी श्रीमतीको हत्याको षड्यन्त्र रचे र आफ्ना सहयोगीहरुसँग मिलेर हत्या गरे । त्यसपछि उनले लाश ठेगान लगाउने पनि पूरै योजना बनाएका थिए । भरतले चित्रकुटको बरुआ बाँधमा माछा समात्ने ठेक्का लिएका छन् । हिजो बेलुका उनले आफ्ना एक सहयोगीलाई बाँधमा एउटा सानो डुंगा बाँधेर घर जान र घर पुगेपछि आफूलाई फोन गरेर जानकारी दिन भनेका थिए ।
भरतले आफ्ना अर्का एक सहयोगी रामसेवकलाई राती बाँधनजिकै एक घरमा सुत्न भनेका थिए । राती केही मानिसहरु बाँधमा माछा चोर्न आउने भएकोले राती उनीहरुलाई पक्रन जाने भरतले रामसेवकलाई भनेका थिए । भरतले राती श्रीमतीको हत्या गरे र लाशलाई आफ्नो स्कार्पियो कारमा राखेर रामसेवकलाई लिन पुगे । रामसेवक गाडीमा लाश देखेर आत्तिए र भरतलाई सहयोग गर्न मानेनन् ।
भरतले आफ्नी श्रीमती चरित्रहीन भएकोले आफूले मार्नुपरेको भन्दै रामसेवकलाई फकाए । त्यपछि उनी रामसेवकलाई लिएर लाश ठेगान लगाउन बरुआ बाँध पुगे । योजनाअनुसार बरुआ बाँधमा पहिल्यै एउटा डुंगा किनारमा बाँधिएको थियो । रामसेवकसँग मिलेर भरतले श्रीमतीको लाशलाई डुंगामा हाले, लाशसँग ठूला ठूला ढुंगा बाँधे र बाँधमा लाश फाल्नको लागि डुंगालाई गहिरो पानीतर्फ लिएर गए ।
जब भरत रामसेवकसँग मिलेर लाशलाई गहिरो पानीमा खसाउँदै थिए, डुंगाको सन्तुलन बिग्रियो र भरत र रामसेवक पनि पानीमा खसे । बाँधको गहिरो पानीमा खसेका रामसेवक त जसोतसो पौडिएर बाहिर निस्के तर भरत डुंगासहित बाँधमै डुबे । पहिले त रामसेवकले फर्जी कहानी बनाएर भरतको मृत्यु भएको सूचना पुलिसलाई दिएका थिए तर जब पुलिसले कडाइका साथ सोधपुछ गर्यो रामसेवकले सबथोक बताए । पुलिसले भरत र उनकी पत्नीको लाश खोज्न बाँधमा गोताखोर परिचालन गरेको छ ।
Facebook Comment