नागरिक सचेतना र कानूनी प्रबन्धबाट विपद् व्यवस्थापन : गृहमन्त्री थापा

डिसी नेपाल
२ माघ २०७६ १६:२०

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नागरिक सचेतना र विपद् व्यवस्थापन गर्ने कानूनी प्रबन्धबाट सम्भावित क्षति कम गराउन सकिने बताएका छन्।

विसं १९९० माघ २ गते र त्यसपछिको भूकम्पमा परी दिवङ्गतको स्मृतिमा कामपाले बिहीबार आयोजना गरेको स्मृतिसभामा गृहमन्त्री भने, “कहिलेकाहीँ अप्रत्याशित जोखिम व्यहोर्नुपर्ने अवस्थाबाट बाँच्न र बचाउने उपाय भनेकै सुरक्षित भवन र यसप्रतिको साझा प्रतिबद्धता हो”,। मन्त्री थापाले २०७२ सालको भूकम्पबाट क्षति भएको भौतिक संरचनाको पुनःनिर्माणलाई सरकारले प्राथमिकता दिएको पनि स्पष्ट पारे ।

सभामा काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले विपदबाट हुने क्षति कम गर्न र सचेतना बढाउन तथा विपत्ति आइपर्ने क्षति कम गराउने महानगरले वडास्तरीय विपद् क्षति व्यवस्थापन तथा नागरिक सुरक्षा समिति गठन गरेको बताए ।

भवन निर्माण संहिताको कार्यान्वयनलाई कडाइ गरेको भन्दै शाक्यले कामपाभित्र निर्माण हुने सरकारी वा निजी जुनसुकै प्रकारका भवन पनि नक्सा स्वीकृत नगराई निर्माण गर्न गराउन नपाउने व्यवस्थालाई कडाइ गरिएको बताए । कामपा विपद् व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले वडातहमा गठन गरिएका विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समितिमार्फत नागरिकलाई सुरक्षित महसुस गराउने कामले तीव्रता पाइरहेको बताए ।

विसं १९९० माघ २ गतेको विनाशकारी भूकम्पले पु¥याएको क्षति सम्झना गर्दै अबका पुस्ताले यस प्रकारको क्षति व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न यो दिवस मनाउने गरिएको हो । विनाशकारी भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा पुस्तालाई सहभागी गराउने उद्देश्य राखेर २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । यो २२औँ दिवस हो । यस वर्षको नारा ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुरक्षा र समृद्धिको आधार’ रहेको छ ।

कार्यक्रममा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, महानगरका वडाध्यक्ष, कार्यपालिका सदस्य तथा जनप्रतिनिधि र विपद् व्यवस्थापनका क्षेत्रमा काम गर्ने सङ्घ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *