सरकारका प्रवक्ता बाँस्कोटा भन्छन् : ब्यानर टाँसेर जग्गा कब्जा हुँदैन
काठमाडौं। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेकपा स्थायी कमिटी सदस्य भीम रावललाई बालुवाटार ज्यान मार्ने धम्की दिएको कुरा लगत भएको बताएका छन्।
बिहीबार सञ्चार मन्त्रालयमा आयोजना भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले बालुवाटारबाट नेता रावललाई ज्यान मार्ने धम्की दिएको कुरा सत्य नभएको बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले बहस गर्न रुचाउने कुरा कसैले मन पर्नु नपर्नु छुट्टै कुराभपनि ज्यानमार्ने धम्कीको कुनै सत्यता नभएको बाँस्कोटाले बताए।
उनले भने, ‘प्रधानमन्त्री त्यस्तो खालको हुनुहुन्छ र? कसैको ज्यान नै लिने। प्रधानमन्त्री बहस गर्न रुचाउनु हुन्छ। त्यो मन पर्न सक्छ। मन नपर्न सक्छ। टिप्पणी हुन सक्छ। आलोचना हुन सक्छ। विरोध हुन सक्छ। कार्टुन बन्न सक्छ अथवा नेताहरुको पनि भाषणको विषय बन्न सक्छ। तर ज्यान मार्ने धम्कीको कुनै सत्यता छँदा पनि छैन् हुँदा पनि होइन। र रावलजी नै सत्य बताउनुपर्छ की यस्तो नम्बरबाट फोन आयो वा यस्तो गरियो भनेर त्यसलाई कारवाही हुन्छ। किनकी विचार व्यक्त गर्ने कुरामा वा कुनै पनि कुरामहा सहमति असहमति जनाएकै आधारमा कसैमाथि ज्यानको धम्की दिन मिल्दैन।’
बाँस्कोटाले रावलको सुरक्षाका लागि सरकारले सुरक्षाकर्मी खटाएको स्मरण गर्दै साथमा पछुवा सुरक्षाकर्मी भएकाले उनीमाथि कुनै सुरक्षाको खतरा नभएको बताए। प्रधानमन्त्रीले आफ्ना कार्यकर्ताहरुको ज्यान लिन तलवार बोकेर हिँड्ने वा खल्तीभरी गोलीको माला बोकेर हिड्नुहुन्छ भनेर सोच्नु नै गलत भएको उनले बताए।
उनले भने, ‘प्रधानमन्त्री ओली पनि नेकपाकै हुनुहन्छ। रावल पनि नेकपाकै नेता हुनुहुन्छ। उहाँको सुरक्षा व्यवस्था सरकारले नै उपलब्ध गराएको छ। पछुवा पनि उहाँको छ र साथमा पनि अरु सुरक्षाकर्मीहरु छन्। त्यसैले उहाँको ज्यानमाथिको सुरक्षा खतरा भन्ने मलाई लाग्दैन। जहाँसम्म प्रधानमन्त्रीले आफ्नै कार्यकर्तामाथि तलवार बोकेर हिँड्नुहुन्छ। खल्तीभरी गोलीको माला भिरेर हिन्नु हुन्छ भन्ने कुरा सोच्नु राम्रो होइन। यो सत्य पनि होइन।’
अर्को प्रसंगमा मन्त्री बाँस्कोटाले ललिता निवासको जग्गा कब्जा गर्ने विप्लव नेकपाको धम्की चर्चामा आउनका लागि मात्रै भएको बताए। पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै बाँस्कोटाले सरकारले नै उक्त जग्गामाथि छानबिन चलाएको उल्लेख गर्दै नेपाली जनता र नेपाल सरकारको उक्त जग्गा कुनै व्यक्तिलाई नदिइने बताए।
‘विप्लवले कब्जा गरेर कब्जा हुँदैन नेपाल सरकार आफैले त्यस उपर छानबिन चलाएको छ। त्यो अरु कसैले भनेर होइन सरकार आफैले थाहा पाएपछि त्यस उपर छानबिन गरेको हो। त्यो जग्गा जसले जे भने पनि नेपाली जनताको हो, नेपाल सरकारको हो। हामी त्यही नै गर्छौ र व्यक्तिहरुलाइए दिन सकिँदैन। जो सुकैको परे पनि ।’
बाँस्कोटाले भने, ‘चर्चामा आउने तर के मा आउने त भन्दाखेरी सार्वजनिक चासो प्रकट भइरहेको विषयमा कुनै अदृश्य एक्सनको गरियो र भने शक्तिशाली देखिन्छ की भन्ने हुन सक्छ। त्ये राम्रो कुरा होइन र कब्जा नै गर्ने भए त। उहाँहरुको के थियो। झण्डा नै राष्ट्रको भन्दा अर्को थियो की अथवा केही अरु नै केही थियो की।’
बाँस्कोटाले विप्लव समूहका गतिविधहरु आतंकवादी भएको बताए। लुकेर हमला गर्ने, छिपेर हमला गर्ने कुराले उनीहरुलाई नराम्रो गर्ने बाँस्कोटाले बताए। सरकारले सार्वजनिक सम्पत्तिहरु, टेलिकमका टावरहरुमा आगजनी गर्न नभएको भन्दै बाँस्कोटाले जनताको सम्पत्तिमाथि खेलवाड गर्ने अधिकार कसैलाई नभएको बताए।
बाँस्कोटाले विप्लव समूहका त्यस्ता गतिविधिहरु प्रति सहनशिल बन्न नसकिने बताए। ‘त्यसप्रति हामी खेद प्रकट गर्छौ। त्यस्ता घटना घटाउनेप्रति हामी सहनशील हुन सक्दैनौँ। जहाँसम्म सरकारी कुरा छ। ठाउँठाउँमा गएर झण्डा गाडेर केही हुनेवाला छैन। कानुनी प्रक्रिया र विधिबट नै विषयवस्तुहरुलाई निरुपण गर्नुपर्छ। सरकारले जोगाउन लाग्या भए पो त्याँ हानेर बहादुरी हुनु। सरकार आफैले छानबिन गर्दैछ। उहाँहरुको के लाभ हुन्छ। केही पनि हुँदैन। त्यो हो हल्लाको एउटा विषय बन्छ। त्यती नै हो र मिडियाले खास प्राथमिकता दिएको छैन। यस्तो कुरालाई प्राथमिकता दिनु हुँदैन।’
बाँस्कोटाले स्थानीय तहहरुमा विकास निर्माणका नाममा भइरहेको डोजर आतंकका विषयमा भने कामचलाउ जवाफ दिएका छन्। ‘अनावश्यक दोहोनलाई रोक्न विभिन्न निकायहरु रहेको र उनीहरुले काम गरिरहेका होलान’, बाँस्कोटाले भने।
Facebook Comment