सेयर बजारमा उछाल, २६ अंकले बढ्यो नेप्से
काठमाडौं । सेयर बजारमा साताको अन्तिम दिन बिहीबार उत्साह देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत अधिकांश कम्पनीको सेयर मूल्य बढेपछि भएपनि समग्र बजार २६ अंकले वृद्धि भई नेप्से परिसूचक १३१०.२३ अंकमा पुगेको छ।
बिहीबार नेप्सेमा बैंक, वित्त, जलविद्युत, उत्पादनमुलक, जीवन विमा, निर्जीवन विमा, लघुवित्त, म्युयुअल फण्ड, होटललगायतका समुहगत परिसुचक वृद्धि भएपछि समग्र बजार उकालो लागेको हो।
वित्त र उत्पादनमूलक समूह ४ प्रतिशतभन्दा धेरैले बढेका छन् भने व्यापार, होटल, लघुवित्त, जीवन बिमा र म्युचुअल फन्ड समूह ३ प्रतिशतभन्दा धेरैले उकालो लागेका छन् ।
बिहीबार नबिल प्रगति फन्ड, मल्टी पर्पोज फाइनान्स, आसिएफसी फाइनान्स, ग्लोबल आइएमइ लघुवित्त र तिनाउ मिसन डेभलपमेन्ट बैंकका लगानीकर्ताले धेरै कमाएका छन् । यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । बजार उकालो लागेपनि १५ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
नेप्सेमा बिहीबार १८१ कम्पनीको ५० लाख २५ हजार ५६३ कित्ता सेयर १ अर्ब ६९ करोड ९९ लाख रूपैयाँमा किनबेच भएको छ । बुधबारको ९० करोड ४८ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा विहिबार करिब ६० करोड बढेको हो ।
Facebook Comment