फाँसीको दिन आउनुअघि नै निर्भया काण्डका दोषीले गरे आत्महत्याको प्रयास
नयाँ दिल्ली। कडा सुरक्षा र सिसिटिभी क्यामेराको निगरानी हुँदाहुँदै पनि निर्भयाका दोषी विनय शर्माले तिहाड जेलमा झुण्डिएर आत्महत्या गर्ने प्रयास गरेका छन् । जेल सूत्र र विनयका वकिल एपी सिंहको दावीको हवाला दिँदै दैनिक भास्करले लेखेअनुसार यो घटना बुधबार बिहानको हो । सुरक्षाकर्मीले समय छँदै उनलाई बचाएका छन् । जेल महानिर्देशक सन्दिप गोयलले भने यस्तो कुनै पनि घटना भएको अस्वीकार गरेका छन् ।
सूत्रका अनुसार विनयलाई जेलको मेडिकल इन्स्पेक्सन रुममा २४ घण्टा डाक्टरको निगरानीमा राखिएको छ । जेल सूत्रका अनुसार घटनापछि बिहीबार विनयसहित जेल नम्बर २ मा रहेका अक्षय, पवन र मुकेशलाई जेल नम्बर ३ को फाँसीघर नजिकै उच्च सुरक्षासहितको सेलमा सारिएको छ । यो आदेश ९ जनवरीको थियो तर अहिलेसम्म लागू भएको थिएन । सूत्रका अनुसार दोषीहरु फाँसी टार्नको लागि आफूमाथि पुलिस केस लगाउने कोसिसमा छन् । भारतीइ कानुनअनुसार आत्महत्याको प्रयास अपराध हो र यसमा उनीहरुमाथि केस लागे यो केसको फैसला नआउँदासम्म फाँसी दिन मिल्दैन । यो घटनालाई पुलिसले यो कोणबाट पनि अनुन्धान गरिरहेको छ ।
विनय जेल नम्बर ४ को एक कोठामा एक्लै थिए । उनको कोठा र शौचालयको बीचमा केवल १ पर्दा छ । शौचालयमा फलामको सानो हुक छ । बुधबार बिहान ९ देखि १० बजेको बीचमा उनले कपडाको फन्दा बनाएर त्यही हुकमा फसाए र घाँटीमा बाँधेर झुण्डिए । फन्दा ५–६ फिटको उचाइमा भएका कारण उनी झुण्डिएर मर्न सकेनन् । यही क्रममा कुनै कैदीले सुरक्षाकर्मीलाई सूचना दिएपछि उनलाई बचाइयो ।
पटियाला हाउस कोर्टले फाँसीको मिति अगाडि सार्ने र दोषीको दया याचिकाका विषयमा जेल प्रशासनसँग शुक्रबारसम्म रिपोर्ट मागेको छ । मुकेशको दया याचिका र अन्यसँग बाँकी कानुनी बाटोहरुलाई हेर्दै तिहाड जेल प्रशासनले दिल्लीसरकारलाई एक पत्र लेखेर फाँसीको मिति अगाडि सार्न भनेको छ । एलजीले मुकेशको दया याचिका खारेज गर्न सिफारिस गरेका छन् । यो सिफारिस राष्ट्रपतिलाई पठाइनेछ ।
Facebook Comment