काठमाडौंमा २४ घण्टा वर्षा
काठमाडौं। काठमाडौँमा विगत २४ घण्टा निरन्तर वर्षा भएको छ। बिहीबार साँझदेखिको निरन्तर वर्षा शुक्रबार अबेर साँझ रोकिएको छ। पश्चिम न्यून चापीय प्रणालीको प्रभावले काठमाडौँ उपत्यकासहित देशैभर बदली र वर्षा भएको हो ।
मौसमी प्रणालीले देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँमा ४८ मिलिमिटर वर्षा भएको छ ।
मौसमविद् सजिना शाक्यले शुक्रबार रातिसम्म पश्चिमी न्यून चापीय प्रणाली कमजोर भई शनिबारदेखि मौसममा क्रमिक सुधार आउने बताइन्।
शुक्रबार वीरेन्द्रनगरमा ६०, धनगढीमा ३८, डडेलधुरामा २२, भैरहवामा ४१, दाङमा २०, पोखरामा २६ र नेपालगञ्जमा १० मिलिमिटर वर्षा भएको महाशखाले जनाएको छ । काठमाडौँको न्यूनतम तापक्रम आठ दशमलव आठ र अधिकतम तापक्रम नौ डिग्री सेल्सियस रहेको छ । रासस
Facebook Comment