रेमिट्यान्सको साइड इफेक्ट : अल्छी बन्दैछन् नेपाली
काठमाडौं। रेमिट्यान्सका कारण नेपालीहरु अल्छी बन्दै गएको तथ्य सार्वजनिक भएको छ। रेमिट्यान्स र स्वरोजगारबीचको सम्बन्धमा गरिएको अनुसन्धानले रेमिट्यान्स प्राप्त गर्ने घरपरिवारका सदस्यको काम गर्ने समय घट्दै गएको र उनीहरु विदेशबाट आउने पैसामा निर्भर हुन थालेको सार्वजनिक गरेको छ।
साउथ एसिया वाच अन ट्रेड, इकोनोमी एन्ड इन्भाइरोमेन्ट (सावती) ले गरेको अनुसन्धानमा रेमिट्यान्सका कारण नेपालीले काम गर्ने कृषि, गैरकृषिका साथै संगठित क्षेत्रमा तलवी कर्मचारीका रुपमा काम गर्ने समय अवधि घटेको उल्लेख गरिएको छ।
अध्ययन प्रतिवेदनका अनुसार रेमिट्यान्स प्राप्त भएपछि गैरकृषि क्षेत्रमा स्वरोजगार भएका नेपालीहरुको काम गर्ने समय प्रतिहप्ता २.४ घण्टा कम भएको छ। यसैगरी कृषि क्षेत्रमा स्वरोजगार भएकाले १.६ घण्टा कम र तलवी कर्मचारीका रुपमा काम गर्नेले प्रतिहप्ता २.४ घण्टा कम काम गर्ने गरेका छन्।
आर्थिक रुपमा सक्रिय नेपालीहरुले औसतमा प्रतिहप्ता ४० घण्टा काम गर्छन् । यसैगरी तलवी कर्मचारीहरुले प्रतिहप्ता ४२ घण्टा, गैरकृषि क्षेत्रमा स्वरोजगारले ३९ घण्टा, कृषिमा स्वरोजगारले २३ घण्टा र अन्य क्षेत्रकाले १८ घण्टा काम गर्छन्।
‘रेमिट्यान्स कारण नेपालीहरु अल्छी बन्दै गएको र काम गर्ने अवधि घटेको पाइएको छ’, अनुसन्धानको नेतृत्व गरेका डा. पारस खरेलले भने, ‘नेपाली अर्थतन्त्रका लागि यो चुनौतीको विषय हो।’
उच्च रेमिट्यान्सका कारण सरकारी राजश्वमा पनि असर परेको अनुसन्धानले उजागर गरेको छ। १० प्रतिशत रेमिट्यान्स वृद्धि हुँदा गैरकृषि उद्यमबाट प्राप्त हुने राजश्व ०.५ प्रतिशतले घटेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
बैदेशिक रोजगार विभागका अनुसार नेपालबाट दैनिक औसतमा १५ युवाहरु रोजगारीका लागि विदेशिने गरेका छन्। यसैगरी २० लाख युवा वैदेशिक रोजगारीका क्रममा बाहिर रहेका छन्।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७५/७६ मा बैदेशिक रोजगारीमा रहेका युवाहरुबाट ८ खर्व ७९ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो। चालु आर्थिक वर्षको कात्तिकसम्म तीन खर्व ४ अर्व ९७ करोड रेमिट्यान्स भित्रिएको छ।
व्यापारघाटा बढ्दै जाँदा देशको अर्थतन्त्र रेमिट्यान्समा निर्भर बन्दै गएको छ। रेमिट्यान्स आय कुनै पनि समयमा धरासायी हुनसक्ने भन्दै विज्ञहरुले चेतावनी समेत दिँदै आएका छन्।
यसैगरी रेमिट्यान्स उत्पादममुलक क्षेत्रमा सदुपयोग हुन समेत सकेको छैन। राष्ट्र बैंकले गरेको एक अध्ययनमा अधिकांश रेमिट्यान्स उपभोगमा खर्च हुने गरेको सार्वजनिक भएको थियो।
अध्ययन अनुसार कामदारका परिवारले रेमिट्यान्सको २५.३ प्रतिशत अंश ऋण तिर्न र २३.९ प्रतिशत खाद्यान्न तथा लत्ता कपडालगायतका दैनिक उपभोग्य वस्तुमा खर्च गर्ने गरेका छन्।
यसैगरी ९.७ प्रतिशत शिक्षा तथा स्वास्थ्यमा, ३.५ प्रतिशत विवाह, व्रतबन्धलगायतका सामाजिक कार्यमा र ३.० प्रतिशत घरायसी सम्पत्तिको खरिदमा प्रयोग भएको अध्ययनमा उल्लेख छ। विप्रेषण रकमको २८.० प्रतिशत भने बचत र १.१ प्रतिशत उत्पादनमूलक क्षेत्रमा लगानी भएको देखिएको छ।
बैदेशिक रोजगार विज्ञ डा. गणेशमान गुरुङ रेमिट्यान्सको नकारात्मक असर विभिन्न क्षेत्रमा देखिन थालेको भन्दै रेमिट्यान्सलाई उत्पादनमुलक क्षेत्रमा प्रयोग गर्ने काम चुनौतीपूर्ण बन्दै गएको बताउँछन्। ‘रेमिट्यान्सलाई सदुपयोग गर्नका लागि कामदार विदेश जानु अघि नै बचत गर्ने र कुन क्षेत्रमा कसरी लगानी गर्ने भन्ने बारेमा तालिम दिनुपर्छ’, उनले भने।
Facebook Comment