अवरुद्ध बेँसीशहर–चामे सडक सञ्चालनमा

डिसी नेपाल
४ माघ २०७६ १७:१९

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत अवरुद्ध लमजुङ–मनाङको एकमात्र बेँसीशहर–चामे सडकखण्ड सञ्चालन भएको छ । वर्षाले शुक्रबार बिहानदेखि सो खण्डका विभिन्न स्थानमा पहिरो जाँदा अवरुद्ध सडक शनिबार दिउँसो करीब साढे २ः०० बजेदेखि सञ्चालन भएको हो ।

सडक डिभिजन कार्यालय दमौलीका सबइन्जिनीयर सुमन अधिकारीका अनुसार बेँसीशहर–चामे सडकमा पर्ने मस्र्याङ्दी गाउँपालिकाको स्याङ्गे, च्याम्चे र नासो गाउँपालिकास्थित सिरनतालमा झरेको पहिरो पन्छाइएसँगै सवारीसाधन आवतजावत भइरहेका छन् । शुक्रबार पहिरो गएको केही समयपछि सडक डिभिजन कार्यालयको स्काभेटरले सडक खुलाउने प्रयास गरे पनि असम्भव भएको र आज वर्षा नभई घाम लागेकाले सडक माथिबाट ढुङ्गा–माटोसहित पहिरो पूर्णरुपमा पन्छाइएको उनले बताए।

पहिरो पन्छाएसँगै अन्नपूर्ण पदमार्गमा आएका पर्यटकलगायत यात्रुलाई सहज भएको मस्र्याङ्दी गाउँपालिकाका बासिन्दा भीमबहादुर गुरुङले बताए। उनले भने, “गुणस्तरीय सडक छैन, त्यहीमाथि हल्का वर्षा हुँदासमेत विभिन्न स्थानमा पहिरो गएर सडक अवरुद्ध हुन्छ, सडकमा यात्रुलाई पहिरो तथा ढुङ्गा–माटो खसेर ज्यान जाने खतरा पनि रहेको छ ।” विसं २०६९ देखि सञ्चालन भएको यस सडकखण्ड ६५ किलोमिटर छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *