लिग चरणका ३ खेल बाँकी छँदै मेलबर्न शीर्षमा रहने पक्का, बाँकी सबै हारे पनि फरक नपर्ने

काठमाडौं। अस्ट्रेलियाको बिग बाश लिगमा नेपाली खेलाडी सन्दिप लामिछाने आबद्ध टिम मेलबर्न स्टार्स अंक तालिकाको शीर्षमा रहने पक्का भएको छ । मेलबर्न स्टार्सले लिग चरणका ३ खेल खेल्न बाँकी नै छ । तर, ती तीनवटै खेल हारेको अवस्थामा पनि मेलबर्न स्टार्स अंक तालिकाको शीर्ष स्थानमै रहनेछ ।
मेलबर्नले ११ खेलमा १० जितसहित २० अंक जोडिसकेको छ । दोस्रो स्थानमा रहेको र समान ११ खेल खेलेको सिड्नी सिक्सर्सको मात्रै १३ अंक छ । उसले बाँकी सबै ३ खेल जितेमा र मेलबर्नले सबै खेल हारेमा पनि सिक्सर्सको बाँकी ३ खेलबाट मात्रै ६ अंक थपिनेछ र उसको अंक १९ मात्र हुनेछ । तेस्रो स्थानको एडिलेड स्ट्राइकर्सले ४ खेल खेल्न बाँकी छ । उसको अंक ११ छ र उसले सबै खेल जितेमा पनि ८ अंक थप्दै १९ अंक मात्र बनाउन सक्छ । अन्य कुनै पनि टिमको ४ खेल भन्दा धेरै खेल खेल्न बाँकी नै छैन । अर्थात मेलबर्नको २० अंक बराबरी गर्न सक्ने पनि कुनै टिमको सम्भावना छैन ।
बिग बाश लिगमा हरेक टिमले लिग चरणमा १४ खेल खेल्छन् । यी १४ खेलबाट प्राप्त अंक तालिकाको आधारमा पहिलो र दोस्रो स्थानमा रहने टिमले प्लेअफमा सिधै क्वालिफायर खेल्न पाउँछन् । यो जितेमा सिधै फाइनल पुग्छन्, हारेमा पनि अर्को खेल जितेर फाइनलसम्म पुग्ने अवसर हुन्छ । पहिलो र दोस्रो स्थानमा रहने टिमले प्लेअफको पहिलो खेल हारेमा पनि बाहिरिँदैनन् तर अरु सबै टिम एउटा मात्र खेल हारे बाहिरिन्छन् ।
पहिलो र दोस्रोमा रहन नसक्ने टिमलाई फाइनल पुग्न कठिन हुन्छ । किनकि तेस्रो स्थानमा रहने टिमले फाइनल पुग्न पहिलो क्वालिफायर र दोस्रो च्यालेन्जर गरी २ खेल लगातार जित्नुपर्ने हुन्छ । चौथो र पाँचौ स्थानमा रहने टिमले त फाइनलसम्म पुग्न प्लेअफमा पहिलो इलिमिनेटर, दोस्रो क्वालिफायर र तेस्रो च्यालेन्जर गरी लगातार ३ खेल जित्नुपर्ने हुन्छ ।
नियमअनुसार पहिलो प्लेअफ खेल चौथो र पाँचौं स्थानमा रहने टिमबीच इलिमिनेटर हुनेछ । यो जित्ने टिम प्रतिस्पर्धामा कायमै रहनेछ । हार्ने टिम बाहिरिनेछ । त्यसपछि पहिलो क्वालिफायर पहिलो र दोस्रो स्थानमा रहने टिमबीच हुनेछ । यो खेल जित्ने टिम सिधै फाइनल पुग्नेछ ।
त्यसपछि नकआउट खेल हुनेछ । यो खेल तालिकाको तेस्रो स्थानमा रहेको टिम र चौथो तथा पाँचौं स्थानमा रहेकाबीचको क्वालिफायरको विजेताबीच हुनेछ । यो खेल हार्ने टिम बाहिरिनेछ, जित्ने टिमले च्यालेन्जर खेल खेल्नुपर्नेछ । च्यालेन्जरमा पहिलो र दोस्रोबीच भएको क्वालिफायरमा हारेको टिम र नकआउटको विजेताबीच हुनेछ । यो खेल जित्नेले फाइनलमा क्वालिफायरको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
Facebook Comment