मनमोहन स्मृति क्रिकेटको उपाधि त्रिभुवन आर्मीलाई

डिसी नेपाल
५ माघ २०७६ ६:४०

काठमाडौँ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले मनमोहन स्मृति क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

नेपाल पुलिस क्लबलाई ८५ रनले हराउँदै आर्मीले लगातार दोस्रो पटक उपाधि चुमेको हो।

सुनसरीको इनरुवामा आज भएको फाइनल खेलमा आर्मीले उपाधिसँगै रु चार लाख पाँच हजार पुरस्कार प्राप्त गरेको छ।

उपविजेता पुलिसले रु दुई लाख पाँच हजार पुरस्कार प्राप्त गर्यो। इनरुवा रङ्गशालामा आर्मीले ब्याटिङ गर्दै ४८ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १८४ रन बनायो।

एक सय ८५ रनको लक्ष्य पछ्याएको पुलिसले २४ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ९९ रन मात्र बनाउन सक्यो। पुलिसका लागि कुशल भुर्तेलले ३१, अमित श्रेष्ठले २३ तथा अनिल साहले २१ रन बनाए ।

बलिङतर्फ आर्मीका सुशन भारीले चार, साहब आलमले तीन तथा कुशल मल्लले दुई विकेट लिए ।

यसअघि आर्मीका लागि ब्याटिङ गर्ने क्रममा कप्तान विनोद भण्डारीले ४०, राजेश पुलामीले ३१, राजु रिजालले २२, विक्रम शोबले १५ तथा कुशल मल्लले १३ रन बनाए ।

बलिङतर्फ पुलिसका सागर ढकाल, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले तीन तीन विकेट लिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी आर्मीका सुशन भारी घोषित भए । उनले रु ५५ हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट बलर सुदूरपश्चिम प्रदेशका विनोद लामा तथा उत्कृष्ट ब्याट्सम्यान आर्मीका कुशल मल्ल घोषित भए । दुवै जनाले जनही रु २१ हजार पुरस्कार प्राप्त गरे ।

मनमोहन स्मृति क्रिकेट सेन्टर तथा इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा गत पुस १५ गतेदेखि उक्त प्रतियोगिता सञ्चालन भएको हो।

प्रतियोगितामा सात वटा प्रदेश, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ तथा मलेसियाको क्रिकेट टोलीको सहभागिता रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *