बिग बाश लिगः यसपटक निकै फरक छ प्लेअफको नियम, ४ होइन ५ टिम प्लेअफ पुग्नेछन्

काठमाडौं। अस्ट्रेलियाको बिग बाश लिगमा यस सिजन प्लेअफको लागि निकै नयाँ नियम बनाइएको छ । अपघल्लो वर्षअंक तालिकाको शीर्षमा रहने ४ टिमबीच सेमिफाइनल भएको थियो । सेमिफाइनलमा तालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रो स्थानमा रहेका टिम भिडेका थिए । दुई सेमिफाइनलका विजेताबीच फाइनल भएको थियो । तर, यस सिजन यस्तो नियम हुने छैन । यो सिजन ४ होइन ५ टिम प्लेअफ पुग्नेछन् ।
लिग चरणका खेल सकिएपछि उपाधिको फैसला हुँदासम्म प्लेअफमा इलिमिनेटर, क्वालिफायर, नकआउट, च्यालेन्जर र फाइनल गरी ५ खेल हुनेछन् । नियमअनुसार पहिलो प्लेअफ खेल चौथो र पाँचौं स्थानमा रहने टिमबीच इलिमिनेटर हुनेछ । यो जित्ने टिम प्रतिस्पर्धामा कायमै रहनेछ । हार्ने टिम बाहिरिनेछ । त्यसपछि पहिलो क्वालिफायर पहिलो र दोस्रो स्थानमा रहने टिमबीच हुनेछ । यो खेल जित्ने टिम सिधै फाइनल पुग्नेछ । हार्ने टिम पनि उपाधि दौडमा भने कायमै रहनेछ ।
त्यसपछि नकआउट खेल हुनेछ । यो खेल तालिकाको तेस्रो स्थानमा रहेको टिम र चौथो तथा पाँचौं स्थानमा रहेकाबीचको क्वालिफायरको विजेताबीच हुनेछ । यो खेल हार्ने टिम बाहिरिनेछ, जित्ने टिमले च्यालेन्जर खेल खेल्नुपर्नेछ । च्यालेन्जरमा पहिलो र दोस्रोबीच भएको क्वालिफायरमा हारेको टिम र नकआउटको विजेताबीच हुनेछ । यो खेल जित्नेले फाइनलमा क्वालिफायरको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
Facebook Comment