ए डिभिजन लिगः एनआरटीद्वारा एपीएफ पराजित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटी क्लबले जित निकालेको छ । आइतबार भएको खेलमा एनआरटीले विभागीय टिम एपीएफ क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।
एनआरटीलाई जित दिलाउन आन्द्रे थेरी, जोर्डन एनडेम्बा र दर्शन गुरुङले एक एक गोल गरे। एपीएफका आशिष लामाले दुई गोल फर्काए ।
रोमान्चक बनेको खेलमा आन्द्रेले २४ औं मिनेटमा गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा एपीएफका आशिषले गोल गर्दा पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो हाफमा एपीएफले अग्रता बनायो । खेलको ५४ औं मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई २–१ को अग्रता दिलाए ।
तर, खेलको ८० औं मिनेटमा जोर्डनले गोल गर्दै एनआरटीलाई २–२ को बराबरीमा ल्याए । त्यसपछि खेलको ८५ औं मिनेटमा दर्शनले गोल गर्दै एनआरटीलाई ३–२ को रोमान्चक जित दिलाए । खेलमा एनआरटीका एरिक बिष्ट म्यान अफ दि म्याच चुनिए।
जितसँगै एनआरटी लिगको छैटौं स्थानमा उक्लिएको छ । एनआरटीले ७ खेलमा ११ अंक जोडेको छ । एपीएफ ७ खेलमा ५ अंक जोडेर लिगको १२ औं स्थानमा रहेको छ ।
Facebook Comment