सापकोटा सभामुख पदका उम्मेदवार

डिसी नेपाल
५ माघ २०७६ १८:०३

काठमाडौं । सत्तारुढ दल नेकपाले अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेको छ।

आइतबार बसेको पार्टी सचिवालयको बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो। पार्टी सचिवालयको बैठक बस्नुअघि बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलमा सापकोटाको नाममा सहमति भएको थियो।

आइतबार बिहान बालुवाटारमा दुई अध्यक्षबीच सभामुख उम्मेदवार चयन गर्ने विषयमा छलफल भएको थियो।

नेकपाले सभामुखको उम्मेदवार चयन गरेसँगै सोमबारको प्रतिनिधिसभा बैठकबाट सभामुख चयन प्रक्रिया शुरु हुने सम्भावना बढेको छ।

तर, उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा नदिए नेकपाले सभामुखमा उम्मेदवारी दिन पाउने छैन। तुम्बाहाम्फे पनि नेकपाकै सांसद भएकाले यो कानुन अड्चन हो। संविधानले सभामुख र उपसभामुख फरक दलको र फरक लिंगको हुनुपर्ने व्यवस्था गरेको छ।

यसअघि सभामुखमा दावी गर्दै आएकी शिवमायाले नेकपाले उपसभामुखबाट राजीनामा दिन गरेको आग्रह अस्वीकार गरेकी थिइन्। उनले पार्टीले सभामुखको उम्मेदवार चयन गरेमात्र राजीनामा दिने बताएकी थिइन्। अब भने उनले राजीनामा दिनुपर्ने अवस्था आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *