सापकोटालाई सभामुख उम्मेदवार बनाएपछि सामाजिक सञ्जालमा तिखो प्रतिक्रिया

डिसी नेपाल
५ माघ २०७६ २१:१५

काठमाडौं। तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकै एक महिला कर्मचारीमाथि बलात्कार गरेको आरोप लागेपछि सभामुख पदबाट हात धुन बाध्य भए।

यसरी रिक्त भएको सभामुख पदमा जित्ने पक्का जस्तै भएको नेकपाले अर्का विवादास्पद व्यक्तिलाई उम्मेदवार बनाएपछि सामाजिक सञ्जालमा तिखो टिप्पणी भएको छ।

महरालाई नेकपाले नैतिकताका आधारमा पदबाट राजीनामा दिन भनेपछि उनले गएको असोज १३ गते राजीनामा दिएका थिए। त्यस यता रिक्त रहेको सभामुखका लागि सत्तारुढ दल नेकपामा लामो रस्साकस्सीपछि आइतबार उम्मेदवार तय भएको छ।

तर, सर्वोच्च अदालतमा हत्या आरोपमा मुद्दा विचाराधीन रहेका अग्नि सापकोटालाई नेकपाले सभामुखको उम्मेदवार बनाउने निर्णयपछि पत्रकार सुफल काफ्लेले सामाजिक सञ्जाल ट्वीटरमा लेखे, ‘बलात्कारीले छाडेको कुर्सीमा हत्या आरोपीलाई विराजमान गराएर संसदीय मर्यादा राख्ला जस्तो छ नेकपाले।’

स्मरण रहोस सापकोटामाथि कार्भेका अर्जुन लामाको हत्या आरोपमा सर्वोच्चमा विचाराधीन मुद्दाको पेसी यही माघ २२ गतेका लागि तोकिएको छ।
अर्का लेखक तथा चिकित्सक डा. रामेश कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरजी, बजारमा चलेका हल्लादेखि नडराउनुस्, सब एमालेको टिडिक हो। युद्ध अपराधमा सबै नाइके दोषी नै हुन्। पहिलेका सर चैँ मान्छे मार्दा ‘यो मुर्खलाई क्षमा देऊ’ भनेर छातीमा दायाँ बायाँ हात गरेर बस्नु हुन्थ्यो र? क्रान्तिमा हत्या सही भनेर देशै बुझाएका हामी तोरी जनता तपाईँसँगै छौँ। गो अहेड!’

उता नयाँ आवाजका नामबाट ट्वीटर प्रयोग गर्ने प्रयोगकर्ताले लेखेका छन्, ‘महरालाई पनि आरोप मात्र लागेको हो । उनले फैसलाद्वारा दोषी ठहरिएर होइन, नैतिकताका आधारमा राजिनामा दिएका हुन् । आग्नि सापकोटालाई पनि हत्या आरोप लागेको छ, फैसला बाँकी नै । यसमा किन नैतिकताको मुद्दा हुँदैन? हुन्छ, तर नेकपाले घाँस खायो ।’

सापकोटाको आलोचनामा सामाजिक सञ्जालमा गरिएका यी अन्तिम टिप्पणी भने होइनन्। यस्ता आलोचनामा अरु पनि टिप्पणीहरु भएका छन्।

त्यसो त सापकोटाको समर्थनमा पनि सामाजिक सञ्जालमा उनलाई बधाई दिएका पोस्टहरु पनि भएका छन्। उनका समर्थक र खास गरेर नेकपा निकटहरुले सापकोटालाई बधाई दिइरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *