आफ्नै मृत्युको नाटक गरेर पौने १५ करोड बीमा रकम लिने प्रयास गर्दा…
काठमाडौं। बेलायतमा एक पाकिस्तानी व्यक्तिलाई आफ्नो मृत्युको नाटक गरेर बीमा कम्पनीबाट करोडौं ठग्ने कोसिस गरेको आरोपमा जेल सजाय भएको छ । यदि उनले दावी गरेको रकम दिइएको भए सैयद बुखारीको परिवारले १४ करोड ७७ लाख रुपैयाँ पाउँथे । लण्डन सिटी पुलिसको इन्स्योरेन्स फ्रड इन्फोर्समेन्ट डिपार्टमेन्टको जाँचमा यो खुलासा भएको द मिररको रिपोर्टमा उल्लेख छ ।
सैयद बुखारीले बीमाको पैसा दावी गर्न १९ जनवरीमा बीमा कम्पनीलाई इमेल पठाएर आफ्नो मृत्युको जानकारी दिएका थिए । त्यसपछि फोनमा श्रीमतीको आवाजमा कुरा गरेर मृत्यु हर्ट एट्याकका कारण कराँचीमा भएको बताएका थिए । त्यसपछि बीमा कम्पनीले दावीको भेरिफिकेशन सुरु गर्यो । यसको जिम्मेवारी लण्डन सिटी पुलिसको इन्स्योरेन्स फ्रड इन्फोर्समेन्ट डिपार्टमेन्टका अधिकारी माइक मंकटनलाई दिइयो । जाँचको क्रममा पुलिसले ती व्यक्तिहरुसँग पनि सम्पर्क गर्यो जको बारेमा बुखारीले फोनमा रिफरेन्स दिएका थिए ।
जब फोनमा क्लेम गर्ने आवाजको जाँच गरियो त्यसपछि थाहा भयो कि फोन गर्ने आवाज कुनै महिलाको नभइ बुखारीकै हो । त्यसपछि बुखारीलाई पक्राउ गरी लण्डन क्राउन कोर्टमा पेश गरियो । अदालतले बिहीबार सुनुवाइको क्रममा बुखारीलाई ५ वर्ष ७ महिनाको जेल सजाय सुनाएको छ । मंकटनका अनुसार मुद्दामा बुखारी मात्र नभइ उनकी पत्नीलाई समेत पैसाको लागि षड्यन्त्र रचेको आरोपी बनाइएको छ । पत्नीले भने पतिले गरेको अपराधबारे आफूलाई कुनै जानकारी नभएको बताएकी छिन् ।
बीमा कम्पनीले तीन स्तरमा बुखारीको दावीको जाँच गराएको थियो । सबैभन्दा पहिले दावी फाइनलमा ंलग्न गरिएको मेडिकल प्रमाणपत्र र मृत्यु प्रमाणपत्रको जाँच गरियो । यसमा मेडिकल प्रमाणपत्रमा रहेको फिंगरप्रिन्टमा ३ औंलाको छाप मात्र बुखारीका थिए । त्यसपछि जाँच टिम पाकिस्तान गएर कराचीमा अनुसन्धान गर्यो । यहाँको जुन चिहानघाटमा बुखारीलाई गाडेको दावी गरिएको थियो त्यहाँको रजिष्टरमा बुखारीको कुनै रेकर्ड थिएन ।
त्यसपछि जाँचकर्ता युनियन काउन्सिलको कार्यालय गए, जहाँबाट मृत्यु प्रमाणपत्र जारी गरिएको थियो । यहाँ रजिष्टरमा बुखारीको नाम थियो तर पहिचान पत्र र मेडिकल प्रमाणपत्रको आइडी नम्बर लगायत मिलेको थिएन । त्यपछि जाँचकर्ता मेडिकल प्रमाणपत्रको पुष्टि गर्न अस्पतालको ठेगानामा पुग्दा त्यहाँ कुनै अस्पताल नै थिएन । नजिकैका एक डाक्टरले प्रमाणपत्रका उल्लिखित अस्पतालको नाम कहिल्यै नसुनेको बताएका थिए ।
Facebook Comment