राष्ट्रियसभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठामडौं। राष्ट्रियसभा सदस्य हरिचरण सिवाकोटीले मेडिकल कलेजहरुलाई सम्बन्धन दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
सोमबारको राष्ट्रियसभा बैठकमा सदस्य हरिचरण सिवाकोटीले भौतिक पूर्वाधार निर्माणका सम्पूर्ण काम पूरा भएपनि सम्बन्ध नपाएको भन्दै गुनासो गरे।
मनमोहन मेडिकल कलेजले लामो समयसम्म पनि सम्बन्ध नपाएको बताउँदै सिवाकोटीले ३६ सय जनताको सेयर रहेको उक्त कलेजलाई सम्बन्धन दिने कुरामा सरकार मौन रहेको उनले बताए। झापाको बिएण्डसी अस्पतालमा सुविधा सम्पन्न भवनहरुको निर्माण सम्पन्न भइसक्दा पनि किन सम्बन्ध नपाएको भन्दै गुनासो समेत गरे।
‘मेडिकल कलेजहरुलाई किन सम्बन्धन दिन सकेका छैनौं। सरकारले कलेज बना भन्छ। कलेज बनाउँछन् सबै पूर्वाधार तयार हुन्छन् तर ५/६ वर्षसम्म सम्बन्ध पाएका छैनन्,’ उनले भने, ‘सम्बन्धन दिने कुरामा सरकार मौन बसेको छ। झापाको विएण्डसी कलेज कहिले के विवाद भएको हो। पूर्वाधार राम्रो छ तर सरकारले वर्षौसम्म पनि सम्बन्धन दिन सकेको छैन।’
हरेक वर्ष कलेजहरुले राजस्व बुझाउँदै आएको भएपनि सरकारले सम्बन्धन दिने कुरामा मौनता कायम गरेको उनको आरोप छ। हरेक वर्ष ठूलो नेपाली विद्यार्थीहरु बंगलादेश, पाकिस्ता चीन लगायतका मुलुकमा मेडिकल शिक्षा अध्ययनका लागि जाने गरेको उल्लेख गरे।
सिवाकोटीले ठूलठूला भवन निर्माण भएपनि सम्बन्ध पाएर पढाई सञ्चालन नहुँदा मेडिकल कलेज मसानघाट जस्ता भएको जनाए।
सांसद नन्दा चपाईंले देशको मेरुदण्डका रुपमा रहेका उद्योगहरुको सञ्चालन गर्नतर्फ सरकारले ध्यान दिनुपर्ने बताइन्।
‘उद्योगहरुको सञ्चालन, मजदुरहरुको व्यवस्थान, ज्याला मजदुरीको भुक्तानीका लागि सरकारको ध्यान जान जरुरी छ,’ उनले भनिन्, ‘वीरगञ्ज चिनी कारखाना बन्द भएको अवस्थामा सरकारले चाँडै सञ्चालन गर्ने भनेको थियो। तर अहिलेसम्म सञ्चालन हुन सकेको छैन। के प्रगति भइरहेको म बुझ्न चाहान्छु।’
सांसद तारादेवी भट्टले सरकारले संघीयता कार्यान्वयनमा दतारुकता नदेखाएको आरोप लगाइन्। तीनवटा तहमा सुविधा जनक बहुमतका साथ सरकार सञ्चालन भएपनि तालमेल भने हुन नसकेको उनले बताइन्।
‘अख्तियारले स्थानीय तहहरुमा बढी भ्रष्टाचार हुने गरेको तथ्याङ्क सार्वजनिक गरेको छ। डोजर चलाएर प्राकृतिक स्रोतको दोहोन भएको देखिन्छ। क्रसर उद्योगहरु अनाधिकृत रुपमा सञ्चालनमा छन। गुण्डा शैलीमा मान्छे मार्ने क्रम कहिले रोकिने हो?,’ उनले भनिन्।
Facebook Comment